काठमाडौं । आइसिसी यू–१९ विश्वकप क्रिकेटमा न्युजिल्यान्डले नेपाललाई ३०३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन जोड्यो ।

स्नेहिथ रेड्डीले १ सय ४१ रनको विशाल इनिङ खेलेपछि न्युजिल्यान्डले बलियो योगफल खडा गरेको थियो । तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले नटआउट १ सय ४७ रन जोडे । १ सय २५ बलको सामना गर्दै उनले ११ चौका र ६ छक्का प्रहार गरेका थिए ।

पहिलो विकेटका लागि राम्रो सुरुवात गरेको न्युजिल्यान्डले त्यसपछि लगातार तीन विकेट गुमाउँदा खेलमा नेपाल फर्केको थियो । चौथो विकेटका लागि कप्तान ओस्कार ज्याक्सन र रेड्डीले १ सय ५७ रनको साझेदारी गरेपछि न्युजिल्यान्डले खेलमा पकड जमाएको थियो।

पहिलो पावरप्लेमा ५३–० को बलियो सुरुवात गरेको न्युजिल्यान्डलाई स्पिनरत्रय सुभाष भण्डारी, तिलकराज भण्डारी र दीपेश कँडेलले विकेट लिँदै दबाबमा राखेका थिए । सुभाषले ११ औं ओभरको पहिलो बलमा लुक वाटसनलाई बोल्ड गर्दै सुरुवाती सफलता दिलाएका थिए । वाटसनले २५ बलमा २ चौकासहित १४ रन जोडे ।

१४ औं ओभरमा अर्का ओपनर टम जोन्स तिलकबाट बोल्ड भए । जोन्सले ४५ बलम ५ चौकासहित ३३ रनको योगदान दिए । लगत्तै अर्को ओभरमा दीपेशले ओलिभर टेवाटियालाई कट बिहाइन्ड गराए । तेस्रो बल खेलेका टेवाटियाले खाता खोल्न सकेनन् ।

त्यसपछि रेड्डी र ज्याक्सनले बलियो साझेदारी निर्माण गरे । ज्याक्सन ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रन जोड्दै आउट भए । उनी ४२ औं ओभरमा आकाश त्रिपाठीको शिकार बने ।

त्यसपछि ४३ औं ओभरको लगातार बलमा गुलशन झाले लाच्लन स्ट्याकपोल र ज्याक कमिंगलाई खाता नखोली पेभेलियन फर्काए । एलेक्स थम्प्सन १३ रन जोड्दै सुभाषकै बलमा बोल्ड भए । सुभाषले नै अन्तिम ओभरमा म्याट रोलाई २ रनमा आउट गरे ।

नेपालका लागि सुभाषले ३ र गुलशनले २ विकेट लिए । दीपेश, तिलक र आकाशको नाममा १–१ विकेट रह्यो ।

 

प्रकाशित मिति: ७ माघ २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com