काठमाडौं । नेपाल प्रहरीका महानिरिक्षक वसन्तबहादुर कुँवरले सांसद विनोद चौधरीलाई बयान लिनुअघि संसदलाई पत्र पठाएर अतिरिक्त सक्रियता देखाएको भन्दै गल्ती स्वीकार गरेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसदहरुले संविधान र कानुनविपरीत छानबीनकै क्रममा संसदलाई पत्र पठाएको भन्दै आलोचना गरेपछि महानिरीक्षक कुँवरले सांसदको समय आफूहरुले होल्ड गर्नुपरेका कारण सभामुखलाई पत्र पठाइएको बताए ।

सीआईबीले चौधरीमाथि छानबीन भइरहेको भन्दै सभामुखलाई पत्र लेखेको थियो ।

संसद चलेको अवस्थामा पक्राउ परे सभामुखलाई जानकारी दिनुपर्ने र संसद नचलेको अवस्थामा सूचना पाटीमा टाँस्नुपर्ने व्यवस्था रहे पनि छानबीनकै क्रममा पत्र पठाउनु शंकास्पद रहेको कांग्रेस सांसद दिलेन्द्र बढुको आशंका थियो ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले सांसद विनोद चौधरीमाथि छानबिन गर्दैछौं भनेर सभामुखलाई पत्र लेख्नुको कारण उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र आइजिपी कुँवरसंग जवाफ माग गरेका थिए।

बुधबार बसेको बैठकमा सांसद बडूले संविधानमा फौजदारी कसुरमा अनुसन्धानका लागि सांसदलाई पक्राउ गर्दा मात्र सभामुखलाई जानकारी गराउने संवैधानिक व्यवस्था रहेको स्मरण गराए। तर सांसद चौधरीको हकमा छानबिन गर्दैछौं भनेर पत्र पठाइएको भन्दै उनले भने, ‘ह्यारेसमेन्ट गर्ने मात्र उद्देश्य हो कि ? आफ्नो ठाउँ लिइहाल भनेर हो कि ? पूर्वाग्रह राखेको हो ?’

राप्रपा सांसद बुद्धिमान तामाङले कांग्रेस सांसद विनोद चौधरीको पासपोर्ट किन सिज गर्न लागिएको भन्दै प्रश्न गरेका छन् । “पहिला सञ्चारमाध्याम कन्ट्रोल गर्ने कुरा आयो, फेरि हटाइयो, किन त्यो आयो ? यसतर्फ ध्यानाकर्षण गर्छु,” उनले भने, “विनोद चौधरीको विषयमा उहाँको पासपोर्ट सिज गर्न भनिएको थियो रे ? कस्तो व्यक्तिको सिज गर्ने ? उहाँ भाग्न सक्ने व्यक्ति हो ? को कुन लेभल र हैसियतको मान्छे हो भन्ने थाहा छैन सरकारलाई ? कानुनअनुसार कारबाही गर्दा हुँदैन ? किन बेइज्जत गर्न लागिएको हो ?”

सांसद तामाङको प्रश्नको जवाफ दिँदै आइजिपी कुँवरले कांग्रेस सांसद चौधरीको पासपोर्ट सिज गर्ने कुरामा सत्यता नरहेको बताए ।

प्रकाशित मिति: १५ चैत्र २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com