साढे ५ महिनामा ४६ जनाविरूद्ध साइबर अपराधसम्बन्धी मुद्दा

काठमाडौँ — भावना मिल्यो, विचार मिल्यो । एउटै घरमा बसोबास हुँदा एकअर्काको सुखदुःख पनि बाँडे । घरधनी र डेरावालाको सम्बन्ध दिदीभाइमा परिणत भयो । कीर्तिपुरकी बबिता (नाम परिवर्तन) ले डेरावाल मकवानपुर हेटौंडाका २६ वर्षीय निर्दोष ठकुरीलाई तिहारमा भाइटीकासमेत लगाइन् ।

एकदिन बबिताको फेसबुक ह्याक भयो । भाइ निर्दोषलाई आफ्नै ‘जीमेल’ प्रयोग गरी नयाँ फेसबुक खाता खोलिदिन आग्रह गरिन् । निर्दोषले बबिताको मोबाइलमा नयाँ फेसबुक खोलिदिए । त्यसक्रममा मोबाइलमा निर्दोषले बबिताको नग्न तस्बिर फेला पारे । जसलाई आफ्नो फेसबुक म्यासेन्जरमा पठाए र कमाउने मेसो बनाउने सोचे । १० वर्षदेखिको दिदीभाइको सम्बन्धलाई वास्ता नगरी उनले फेसबुकमा ‘फेक आईडी’ बनाई दिदीलाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए र ‘ब्ल्याकमेल’ गर्न थाले ।

‘पैसा पठाइदेऊ, नत्र तिम्रो नग्न तस्बिर सामाजिक सञ्जालमा राखिदिन्छु भन्ने म्यासेज बबिताको म्यासेन्जरमा आइरह्यो,’ प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजकुमार खड्कीले भने, ‘सहनै नसक्ने भएपछि बबिता ब्युरो आइपुगिन् । तर उक्त कार्य निर्दोषले गरिरहेको थाहा पाउँदा उनी छाँगाबाट खसेजस्तो भइन् ।’ निर्दोषलाई ब्युरोले पक्राउ गरी विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत मुद्दामा अदालत पेस गरेको र अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

त्यसैगरी, झापा कमल गाउँपालिका–२ का ४५ वर्षीय राजन निरौलाले नक्कली फेसबुक खाताबाट काठमाडौं बौद्धकी २६ वर्षीया युवतीलाई फ्रेन्ड रिक्वेस्ट पठाए ।

उनीहरूबीच दिनदिनैजसो कुराकानी हुन थाल्यो । राजनले ती युवतीलाई फेसबुक म्यासेन्जरबाटै प्रेम प्रस्ताव राखे । ती युवतीले पनि च्याट गरेकै भरमा विश्वास गरेर उक्त प्रस्ताव स्वीकारिन् । भावना मिल्दै जाँदा एकअर्काका नग्न तस्बिर पनि साटासाट गरे । अन्ततः त्यही नग्न तस्बिरलाई हतियार बनाएर राजनले ती युवतीलाई ब्ल्याकमेल गर्न थाले । पटकपटक नग्न/अश्लील भिडियोहरू बनाउन दबाब दिने र बनाउन नदिए सामाजिक सञ्जालमा राखिदिने धम्की दिन थालेपछि युवती आजित भइन् । युवतीले ब्युरोमा उजुरी दिइन् र राजन पक्राउ परे । राजनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

प्रविधिको दुरुपयोग गर्दै अपराध गरिएका यी दुई प्रतिनिधि घटना मात्र हुन् । साइबर कसुरसम्बन्धी अपराधमा युवाहरू बढी संलग्न हुने गरेको र यौनजन्य साइबर कसुरबाट महिलाहरू बढी मात्रामा पीडित भएको पाइएको ब्युरो बताउँछ । अश्लील तस्बिर/भिडियो खिचेर फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमा राखिदिने वा इन्टरनेटमार्फत सार्वजनिक गर्ने धम्की दिएर ब्ल्याकमेल गर्ने, मोबाइलमा अश्लील सन्देश तथा तस्बिर पठाउने, सामाजिक सञ्जालमा अश्लील सामग्री ट्याग गर्ने, अरूको इमेल वा अन्य इन्टरनेट खाता ह्याक गरी अश्लील सामग्री राखिदिने, विभिन्न ब्लग तथा साइटहरूमा अश्लील तस्बिर तथा समाचार प्रकाशन गरी चरित्र हत्या गर्ने घटनाहरू बढेको ब्युरोको तथ्यांकले देखाउँछ । साइबर ब्युरोले चालु आर्थिक वर्ष ०७८/७९ को साढे ५ महिनामा मात्र विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत ४६ जनाविरुद्ध मुद्दा दर्ता गरी कारबाही थालेको छ । यो संख्या गत आवमा ७६ र अघिल्लो आवमा ५० थियो ।

‘आपराधिक मनोवृत्ति भएकाहरूका लागि इन्टरनेट सजिलो माध्यम भइरहेको छ,’ ब्युरो प्रवक्ता एसएसपी नविन्दा अर्यालले भने, ‘गाउँ–सहर सबैतिरका युवायुवतीमा फेसबुक संस्कृति झाँगिएको छ ।’ सामाजिक सञ्जालको प्रयोगमा असावधानी र यसले निम्त्याउने जोखिमजस्ता विषयमा युवायुवती जानकार नहुँदा प्रविधिको दुरुपयोग बढिरहेको उनको भनाइ छ । ‘भावना मिल्दा प्रेम र नमिल्दा अपराधको रूप लिने माध्यम सामाजिक सञ्जाल भएको छ,’ उनले भने, ‘यसबाट पीडित हुनेमा किशोरी तथा युवतीहरू बढी छन् ।’

आफ्नै प्रेमीले कुनै अन्तरंग क्षणका तस्बिर वा भिडियो थाहा दिएर वा नदिई खिच्ने र त्यसलाई पछि विचार नमिल्दा स्वार्थ सिद्धिका लागि प्रयोग गर्ने गरेको उजुरी धेरै आएको ब्युरोका अनुसन्धान अधिकृत खड्गी बताउँछन् । ‘कतिपय किशोरहरूले त्यस्ता सामग्रीलाई आफ्नो प्रेम सफल बनाउने अस्त्रका रूपमा समेत गलत प्रयोग गर्ने गरेको पाइन्छ,’ उनले भने, ‘कतिपयले सामाजिक सञ्जाललाई ठगी गर्ने माध्यम बनाइरहेका पनि छन् ।’

अश्लील सामग्री सार्वजनिक गरिदिने धम्की दिँदै महिलामाथि यौन शोषणसमेत हुने गरेको प्रहरीको भनाइ छ । फोटोसपमार्फत अर्कै महिलाको निर्वस्त्र शरीरमा टाउको मात्र जोडेर अश्लील तस्बिर बनाई त्यसलाई समेत धम्की तथा जबर्जस्तीको अस्त्रसमेत बनाइएका घटना प्रशस्त भेटिने गरेका छन् । अश्लील इमेल पठाउने, फेसबुक वालमा अश्लील कमेन्ट गर्ने, अश्लील तस्बिर तथा लिंक ट्याग गर्ने क्रियाकलापमार्फत पनि महिलाहरूको इज्जत, प्रतिष्ठा एवं आत्मसम्मानमा ठेस पु‍र्‍याउने तथा मानसिक हिंसाको घटना बढेको ब्युरोको तथ्यांकले देखाउँछ ।

साइबर अपराधसम्बन्धी विशिष्टीकृत कानुनको अभाव, विद्युतीय कारोबार ऐनले साइबर अपराधका नयाँ कसुरलाई सम्बोधन गर्न नसक्नु, सजायको मात्रा तथा पीडितले पाउने क्षतिपूर्तिको मात्रा कम हुनु, साइबरजन्य कसुरलाई पत्रकारिता वा पेसागत लेपन लगाउने प्रयास हुनु, अनलाइन पत्रकारितासम्बन्धी आचारसंहिता बन्न नसक्नु, विभिन्न खालका वेबसाइट तथा सामाजिक सञ्जालमा हुने गतिविधिमाथि सरकारले निगरानी गर्न नसक्नुले साइबर अपराधका घटना बढिरहेको प्रहरीको ठहर छ ।

सूचना प्रविधिको बढ्दो प्रयोग तथा विस्तारसँगै यसका नकारात्मक असरका रूपमा साइबर अपराधको जालो फैलिँदै गएको एसएसपी अर्याल बताउँछन् । भने, ‘कम्प्युटरजन्य अपराध लागूऔषधभन्दा पनि गम्भीर आपराधिक उद्योगका रूपमा विकसित हुँदै आइरहेको छ ।’

प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com