काठमाडौँ । ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकको रूपमा खटाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णय विवादमा परेको छ । चौतर्फी आलोचना हुन थालेपछि प्रहरीले पछि हट्ने संकेत गरेको छ ।
गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसको अवसर पारेर गएको मंगलबार सामाजिक सञ्जालमार्फत ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकको रूपमा खटाउने र महिला ट्राफिक प्रहरीहरूले रजस्वला भएका बेला चार दिन सडकमा डिउटी गर्नु नपर्ने र उनीहरूको सट्टा ट्राफिक नियम उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा सडकमा काम गर्नुपर्ने गृहमन्त्री लामिछानेले घोषणा गरेको थिए ।
यसको भोलिपल्ट बुधबार ट्राफिक प्रहरीले नियम उल्लंघन गरेको आरोपमा एक हजार ३०३ जनालाई स्वयंसेवकका रूपमा सडकमा खटाएको थियो ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा भएको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) बैठकमा गृह मन्त्रालयको निर्देशनमा मनपरीढंगले ट्राफिक प्रहरीले कार्यान्वयनमा ल्याएको भन्दै विरोध भएको जनाइएको छ ।
बैठकमा प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी नायव महानिरीक्षकहरूले गृहमन्त्री लामिछानेले सस्तो लोकप्रियताका लागि संगठनमा कुनै छलफल नै नगरी आफैँले घोषणा गरेको काम कारबाही प्रहरीले गर्न नहुने बताएका बताइएको छ ।
चौतर्फी आलोचनासँगै गृहमन्त्री लामिछानेको उक्त निर्णय बदरका लागि सर्वोच्च अदालतमा रिट समेत दर्ता भएको छ ।
प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार
प्रतिक्रिया