रासस । जिल्लामा लगाइएको केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो ।

पूर्वी चितवनमा लगाइएको केरामा बढी मात्रामा क्षति पुगेको उनले बताए । उनले भने, ‘पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकामा लगाइएको केरामा ठूलो क्षति भएको छ ।’ जिल्लामा लगाइएको ४० लाख ८७ हजार पाँच सय केरामा क्षति पुगेको उनले बताए । उनका अनुसार पसाएर फल लाग्ने समयका केरामा हावाहुरीका कारण क्षति पुगेको छ ।

सङ्घका महासचिव जनक पन्तका अनुसार हावाहुरीका कारण केरामा रु १२ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सत्तरी जना व्यावसायिक किसानको केरा पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए । ९० प्रतिशत किसानले केराको बिमा गरेको र १० प्रतिशत किसानले बिमा नगरेको उनले जानकारी दिए ।

बिमा गरेका किसानले क्षति भएबापत केही रकम पाउने भए पनि बिमा नगरेका किसानको पूर्ण क्षति हुने उनले बताए । जिल्लामा हाल तीन हजार पाँच सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ । उनका अनुसार यहाँ सात सय जना किसानले केरा खेती गरेकोमा हावाहुरीले एक सय ६५ जना किसानको केरामा क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । वास्तविक तथ्याङ्क आउने केही समय लाग्ने उनले जानकारी दिए ।

प्रकाशित मिति: २१ जेष्ठ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com