काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले संस्थाभित्रकै सदस्यहरुले नेपाली क्रिकेटमा अराजकता फैलाउन खोजिरहेको बताएका छन् । उनले त्यसविरुद्ध कानूनी कारबाही गर्ने चेतावनी दिएका छन् ।

सोमबार सचिव खड्काले पछिल्लो नौ महिनायता क्रिकेट भित्र आफ्नो नेतृत्वले गरेका केही सराहनीय कार्यको फलस्वरुप संस्था सही मार्गमा अघि बढिरहेको उल्लेख गर्दै संस्थाको हित नचाहने जिम्मेवार व्यक्तिहरुले आफू र संस्थाविरुद्ध अराजगता फैलाएको बताएका हुन् । उनले त्यस्ता गतिविधिविरुद्ध छानबिन गरी कानूनी कारबाहीमा जाने चेतावनी पनि दिएका छन् ।

‘कयौँ चुनौती र कठिनाइहरुलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैँमा महत्वपूर्ण छ । यद्यपि, यी सबैकाबीच सङ्घका अध्यक्ष, सचिवलगायत सिङ्गो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रयोजन हत्याउने उद्देश्यसहित संघ भित्रका केही सदस्यहरुले हरसम्भव प्रयास गरिरहनु भएको कार्य दुःखद छ’ खड्काले आफ्नो सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

खड्काले नेपाली क्रिकेटलाई खेलाडीका रूपमा आफ्नो लगानीको २० वर्षलाई स्मरण गर्दै नेपाललाई क्रिकेटर राष्ट्रका रूपमा आत्मनिर्भर बनेको हेर्ने सबैको सपनालाई साकार पार्न आफू लागेको बताएका छन् ।

तर, पछिल्लो समय उनी र संस्थाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेको विषयलाई लिएर चर्को आलोचना भइरहेको बेला उनले आफ्नो तर्फबाट सामाजिक संजालमार्फत स्पष्ट पारेका हुन् । तर, उनले व्यक्तिगत लाभका लागि आफ्नो र संस्थाको नाम बद्नाम गर्न खोज्ने संस्थाभित्रकै सदस्यलाई भने कानूनी कारबाहीको दायरामा ल्याउने बताए ।

प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com