काठमाडौं । श्रीकेश तेलको उत्पादक सप्तऋषि आयुर्वेद कम्पनीमा काठमाडौं महानगरपालिकाले छापा हानेको छ। मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा महानगरको टोलीले मध्य बानेश्वरस्थित कम्पनीको कार्यालय र कारखानामा छापा मारेको हो।

श्रीकेश तेलबारे सञ्चारमाध्यम, सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा समेत गुनासो आएपछि अनुगमन गरिएको महानगरले जनाएको छ।

अनुगमनपछि कार्यालय र कारखाना बन्द गरिएको छ र महानगरले कम्पनीलाई तीन दिनभित्र स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन समय दिएको छ। वडाध्यक्षको रोहबरमा कम्पनी आफैंले कारखानामा ताला लगाएको हो। सो क्रममा महानगरको निरीक्षण टोलीले ल्याब परीक्षणका लागि तेलको नमुना लगेको छ।

नमुना परीक्षणबाट आएको रिपोर्टका आधारमा अनुसन्धान गरी कारबाही गरिने महानगरले बताएको छ । त्यतिबेलासम्म बिक्रीवितरण र प्रचारप्रसारमा महानगरले रोक लगाएको छ।

महानगरले प्रचार सामग्री पनि हटाइदिएको छ । विज्ञापन मापदण्डविपरीत तथा स्वीकृतिभन्दा ठूलो भएको भन्दै प्रचार सामाग्री हटाएको हो।

कम्पनीको महानगरपालिका वडा नं. ३१ शान्तिनगरस्थित कारखानामा महानगरले अनुगमन गर्दा कम्पनीले दाबी गरेको आईएसओ मान्यताको प्रमाणपत्र नक्कली रहेको फेला परेको थियो । क्यूआरसहितको प्रमाणपत्र प्राविधिकले विश्लेषण गर्दा नक्कली रहेको पाइएको हो ।

अनुगमनका क्रममा फेला गरेको तेलको कच्चा सामाग्री सिल नगरेको तथा नष्ट गर्नुपर्ने अवस्थामा भेटिएको थियो । त्यसपछि महानगरको निर्देशनअनुसार कम्पनीले कारखाना बन्द गरेको हो ।

लगत्तै मध्यबानेश्वरमा रहेको बिक्री केन्द्रमा महानगर पुगेको थियो । फरक व्यक्तिको स्वामित्वमा रहेको भनिएको बिक्री केन्द्रको अनुगमनका गर्दा वास्तविकता अर्कै रहेको पाइएको छ ।

सो केन्द्रमा राखेको प्रचारप्रसारको सामाग्री महानगरको मापदण्ड र स्वीकृतभन्दा ठूलो रहेको पाइएपछि ती सामाग्री हटाइएको हो ।

प्रकाशित मिति: ४ असार २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com