काठमाडौं । बार्गेनिङ पत्रकारिताको गलत अभ्यासले पछिल्लो समय देशका प्रतिष्ठित उद्योगी व्यावसायीहरुलाई नराम्रोसङ्ग पिरोलिरहेको छ । हजारौं नागरिकलाई रोजगारी दिँदै राजस्व मार्फत राज्यको ढुकुटीमा महत्त्वपूर्ण योगदान दिने व्यावसायी लक्षित कपोकल्पित तथा भ्रमपुर्ण प्रचार गर्दै मिडियाले गर्ने गरेको ब्ल्याकमेलिङको कारण प्रतिष्ठित उद्योगी व्यवसायीहरुले निकै हैरानी खेपिरहेका छन्।
सञ्चार माध्यम तथा सम्वद्ध व्यक्तिहरुले बार्गेनिङ गर्ने गरेको र विज्ञापन वा पैसा नदिए जथाभावी समाचार लेख्ने गरेको भन्ने पटकपटक व्यवसायीहरुको गुनासो आएपछि २०७८ पौष २५ गते नेपाल प्रेस काउन्सिलले नै वक्तव्य जारी गरेपछि ‘बार्गेनिङ पत्रकारिता’ को विषयले निकै चर्चा पाएको थियो । काउन्सिलले जारी गरेको वक्तव्यले पछिल्लो समय सञ्चार माध्यम तथा सम्वद्ध व्यक्तिबाट विज्ञापनको अनावश्यक दबाब एवं अन्य ‘बार्गेनिङ’ गर्ने र विज्ञापन दिन अस्वीकार गरेमा तथ्यहीन तथा आधारहीन समाचार प्रकाशन, प्रशारणको धम्की दिने प्रवृति देखिएकोप्रति सम्बन्धित सबैलाई सचेत गराएको थियो । काउन्सिलको उक्त वक्तव्यले नेपाली मिडियामा विज्ञापनका लागि ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार लेख्ने प्रवृत्तिको पुष्टि पनि भएको छ।
भनिन्छ मिडिया समाजको ऐना हो । समाज जस्तो छ, त्यसको तस्वीर जस्ताको त्यस्तै मिडियामा देखिनुपर्ने हो तर समाजका विकृति विरुद्ध पहरेदारी गर्ने जिम्मेवारी पाएको प्रेस आफैं ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार प्रवाह गर्ने गलत प्रवृत्तिमा संलग्न हुनु कदापि राम्रो मान्न सकिँदैन।
मिडिया र बिज्ञापन
मिडिया र बिज्ञापन एक आपसमा परिपुरक हुन्छन् । मिडियाको आम्दानीको मुख्य स्रोत बिज्ञापन हो किन कि बिज्ञापन बिना मिडिया संचालन गर्न सकिँदैन्। यदि बिज्ञापन बिना कुनै मिडिया संचालित छन् भने कि त उक्त मिडिया संचालनको प्रारम्भिक चरणमा छ कि त अवैध धन्दा वा कुनै स्वार्थ समूहबाट संचालित हुने गरेको छ भन्ने बुझ्नुपर्छ । नेपाली विज्ञापन बजार कुल १० अर्ब हाराहारी छ । भूकम्प देखि कोरोना महामारीसम्म आइपुग्दा विज्ञापन बजार ४० प्रतिशतले खुम्चिएको अनुमान छ । अहिलेको विज्ञापन बजारले भएका सबै मिडिया धान्न सक्दैन।
मिसन पत्रकारिता गर्ने केही मिडियाहरु बिज्ञापन बिना नै चलिरहेका देखिन्छन् । जो खोज पत्रकारिताको नाममा ब्ल्याकमेलिङको धन्दा चलाइरहेका छन् । मिडियाको ज्यादती र दादागिरी विरुद्व व्यापारिक संस्था र आम नागरिक निरीह छन् । राज्यको चौथो अंग मानिएको मिडियाले स्वतन्त्र पुर्वक लेख्न पाउने अधिकारको दुरुपयोग गर्दै केहि मिडियाहरुले सिंगो नेपाली मिडिया जगतलाई नै बद्नाम गरिरहेका छन् भने खोज पत्रकारिता गर्नकै लागी भनेर खोलिएका त्यस्ता मिडियाले पछिल्लो समय प्रतिष्ठित उद्योगी व्यावसायिहरुलाई ब्ल्याकमेलिङ गरेर सताइरहेका छन्।
उकालोको कालो धन्दा
‘उकालो’ नेपाली संचार क्षेत्रमा ब्ल्याकमेलिङको आरोप लाग्दै आएको एउटा अनलाइन मिडिया हो । नेपाली संचार क्षेत्रमा उकालो अनलाइन ब्ल्याक मनि र ब्ल्याक मेलिङ मार्फत संचालित मिडिया भनेर चिनिने गर्दछ । बिज्ञापनमा कुनै रुचि नै नदेखाउने उक्त अनलाइनले क्राउड फण्डिङ्गको आवरणमा नेपाली उद्योगीहरुसँग करोडौं माग्ने र नदिएको खण्डमा जथाभावी गलत प्रचार गरिदिने गरेको नेपाली उद्योगी व्यावसायीहरुको गुनासो छ।
मुनाफा वितरण नगर्ने कम्पनीका रुपमा दर्ता भएको उकालो अनलाइनको आम्दानीको स्रोत समेत गौण छ । मुनाफा बितरण नगर्ने भनिएको उक्त संचारसंस्थामा २५ बढी कर्मचारी छन् । ति कर्मचारीहरुलाई दिईने तलब तथा सेवासुबिधाको स्रोत के हो ? यो गम्भीर विषय हो । बिज्ञापन नछाप्ने बताउने उक्त मिडियाको आम्दानीको मुख्य स्रोत नै ब्ल्याकमेलिङ भएको जानकारहरु बताउँछन् । जसले उद्योगीहरुलाई हनिट्र्यापमा पारेर पैसा नदिए गलत प्रचार गरिदिने धम्की दिँदै करोडौं असुल्ने गर्दछ । अफ्नो अनलाइनमा भ्रमपूर्ण सामाग्री प्रकाशन गरेपछि अरु मिडियामा पनि उक्त सामाग्री प्रकाशन हुने धम्की दिने गरेको व्यावसायीहरु बताउँछन्।
तस्कर जोगाउने : उद्योगी ठोक्ने
उकालो अनलाइन तस्कर जोगाउन तस्करबाटै नियमित पैसा असुल्ने र प्रतिष्ठित उद्योगीहरुलाई ब्ल्याकमेलिङ्ग गर्दै पैसा दिन बाध्य बनाउने कार्यमा आफ्नो परिचय बनाउँदै आएको छ । जनतालाई सहि सुचना दिएर सुसूचित गर्नुपर्ने कर्तव्यलाई बिर्सिएर जनतामा भ्रामक प्रचार गर्ने र व्यावसायीहरुलाई ब्ल्याकमेलिङ गर्ने नियत देखिएको उक्त अनलाइनमा आएको टिप्पणीहरुले समेत प्रष्ट पार्छ।
उकालो अनलाइनलाई पैसा दिन विवस भएको बताउँदै एक उद्योगका प्रबन्धक भन्छन्, ‘आफ्नो कम्पनीले कुनैपनी गैरकानुनी कार्य नगरेपनि गलत प्रचार गरिदिने धम्कीले कम्पनीले पैसा दिन बाध्य भयो । अहिले दिन छोड्यो अनि फेरि लेख्न थाल्यो ।’ अचम्म मान्दै उनले भने – ‘मिडियाले जे लेख्दा र बोल्दा पनि छुट रहेछ । पैसा दिएन भने कम्पनीको बारेमा भ्रामक समाचार प्रकाशन गर्छन्।’ उद्योगीले तस्करहरुले जस्तो नियमित पैसा दिन नसक्ने बताउँदै पैसा दिन छोडेपछी उकालो अनलाइन फेरि भ्रामक प्रचारमा लागेको उनी बताउछन् । यस अनलाइनले बुद्ध एयरबाट समेत ६ करोड लिएको स्रोतको दाबी छ । तर, यस कुराको पुष्टि भने हुन सकेको छैन।
यस्ता बिषयमा सञ्चारकर्मी पत्रकार आचार संहिताको सामान्य ज्ञानबाट कोशौं दूर छन्। अर्कोतिर, मालिकको स्वार्थ पूरा गर्ने शर्तमा भर्ना भएका सम्पादकले आफूलाई अह्राइएको काम गर्नुलाई मात्र ‘पत्रकारिताको कर्तव्य’ ठान्दा पत्रकारिता थप बद्नाम भइरहेको छ। यसलाई प्रेस काउन्सिलले समय मै नियमन र नियन्त्रण गर्नु अपरिहार्य छ।
प्रकाशित मिति: ६ श्रावण २०८१, आइतबार
प्रतिक्रिया