रासस । प्रतिभा पराजुली, अर्थात् ‘देवी प्रतिभा’ । कम उमेरमा आध्यात्म अङ्गीकार गर्दै देशविदेशका धार्मिक कार्यक्रममा प्रवचनमा प्रखर बनिरहेकी ‘काभ्रेली चेली’ । छिमकी मित्रराष्ट्र भारतमा आध्यात्म प्रवचनमा तेस्रो नम्बरमा कहलिएकी २३ वर्षीया प्रतिभा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्वानेटारमा जन्मेकी हुन ।

भारतको बृन्दावनमा रही प्रवचनमा स्थापित देवी प्रतिभा अहिले पशुपति क्षेत्रमा सञ्चालन भइरहेको ‘पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ–२०८१’मा सामेल हुँदा नेपालीजनमा उनको प्रवचन र प्रचारप्रसार अझ चुलिएको काभ्रेली जनताले महसुस गरेका छन् ।

मानवसेवा फाउण्डेशन नेपाललगायतका संस्थाद्वारा आयोजित एकमहिने उक्त कोटीहोममा उपस्थित भक्तजनबाट प्राप्त माया र सद्भावले आफूलाई थप ऊर्जा मिलेको प्रतिभा बताउँछिन । यस कोटीहोममा नेपालका प्रवचक राधिका दाशी, पण्डित दीनबन्धु पोखरेल र देवी प्रतिभालगायत विदेशमासमेत ख्यातिप्राप्त पाँच कथावाचकले प्रवचन दिइरहेका छन । काभे्रपलाञ्चोकमा जन्मिएर करिब एक दशकदेखि भारतका विभिन्न प्रान्तहरुमा आध्यात्मिक प्रवचन दिइरहेकी प्रतिभाप्रति प्रफुल्लित देखिन्छन्, काभ्रेली जनता । उनको प्रतिभा देखेर गौरवान्वित भएकाले गृहनगर मण्डनदेउपुरलगायत जिल्लाका विभिन्न स्थानमा प्रतिभाको अभिनन्दनसमेत गरिएको छ ।

प्रतिभा साधुराम पराजुली र इन्दिरा पराजुलीको माइली छोरी हुन । बाबु साधुरामका अनुसार प्रतिभा सानै उमेरदेखि आध्यात्मिक सोच राख्ने गर्दथिन् । पारिवारिक वातावरण पनि आध्यात्मिकता रहेको अवस्थामा सानैदेखि ‘पण्डित’ बन्ने प्रतिभाको धोको पूरा भएको परिवारले बताएको छ । ‘छोरीले म एक दिन मेरो बुबाआमालाई आफैँले श्रीमद्भागवत कथा वाचन गरेर सुनाउँछु भन्थिन् ।’ प्रतिभाको आफ्नो सोच, चाहना पूरा भएकामा साधुराम गर्व गर्दछन ।

बृन्दावनमा संस्कृत व्याकरणमा आचार्यसम्मको अध्ययन गरेकी प्रतिभा गीतसङ्गीतमा पनि निपूर्ण थिइन् । कोटीहोममा पनि प्रवचनका क्रममा धार्मिक गीतसङ्गीतमा श्रद्धालु भक्तजनलाई छमछमी नचाउनसक्ने खुबी उनको छ । उनी  संलग्न धार्मिक कार्यक्रममा भीडभाड हुने गरेको छ भने उनीलाई पछ्याउनेहरु पनि त्यत्तिकै देखिन्छन् । अहिले पशुपति कोटीहोममा पनि उनलाई १०÷१२ जना अङ्गरक्षकले सुरक्षा दिनुपर्ने बाध्यता रहेको आयोजकले स्पष्ट गरेको छ । सुरक्षाकर्मीलगायत भजनमण्डलीमा करिब ५० जनाको टिम उनीसँग छन । प्रतिभा २३ वर्षको उमेरमै धेरै व्यस्त छिन् ।

बुवा साधुरामका अनुसार सुरुको विद्यालय शिक्षा बनेपास्थित पञ्चकुमारी बोर्डिङ स्कुलबाट लिएकी प्रतिभाले गाउँकै नवप्रतिभा बोर्डिङ स्कुलमा केही समय अध्ययनगरी काठमाडौँको वाल्मीकि विद्यापिठमा केही समय अध्ययन गरेको बताउछन । प्रतिभाको इच्छाअनुसार परिवारले उनलाई उच्च शिक्षा अध्ययनका लागि भारतको बृन्दावनमा पठाएको थियो ।

भागवत् पढ्न छ महिनामै सिकेको अनुभव उनी सुनाउँछिन् । अध्ययनकै क्रममा प्रवचन दिन थालेकी प्रतिभाले कैयौँ धार्मिक कार्यक्रममा प्रवचन दिएकी छन् । आगामी दिनमा पनि प्रवचनलाई निरन्तरता दिने सोच रहेको उनी बताउछिन् । कथा वाचनको सिलसिलामा सात वर्षपछि प्रतिभा नेपाल आएकी हुन् । उनीको प्रवचनको सारमा ‘धर्म मानवलाई नियममा बाँध्ने एउटा सूत्र’ हो । ‘सेवाभावले जनजनमा धार्मिक गतिविधि प्रचार गर्न सकियोस् भन्दै म यस क्षेत्रमा लागेको हो’, उनी भन्छिन् । ‘पत्थरले पनि मूर्तिको आकार पाउन निकै चोट सहनुपर्छ’, उनी भन्छिन्, ‘मेरो जीवनमा पनि यस्ता समस्या धेरै आए, म ती दिनहरु भुल्न सक्दिन ।’

प्रतिभाले काभ्रेपलाञ्चोकमा आइतबार आयोजित अभिनन्दन कार्यक्रममा आफू संसारका जुनसुकै ठाउँमा पुगे पनि आफ्नो संस्कार, जन्मिएको ठाउँ, आफ्ना समस्त नेपाली दाजुभाइलाई कहिल्यै नबिर्सने बताउँछिन् । उनको रुचिअनुसार पढाइको व्यवस्था गर्न परिवारलाई धेरै मिहेनत गर्नुपरेको थियो । प्रतिभा सानो छँदा जिद्दी स्वभावको रहेको बताउने बाबु साधुराम उनको जिद्दी नराम्रो कामका लागि भने नरहेको बताउँछन् ।

‘हामी उनको चाहनाविपरीत गएनौँ, उनी आफैँले एउटा बाटो समाएकी छिन्, अरुलाई पनि प्रेरणा दिएकी छिन्, देशविदेशमा नाम कमाएकी छिन्, उनी हाम्रो छोरी मात्र होइन, मण्डनदेउपुरको छोरी, काभ्रेपलाञ्चोकको सान र देशकै एउटा नाम जस्तै प्रतिभा भएकामा हामी निकै खुसी भएको छौँ’, बाबु साधुरामले भने ।

 

प्रकाशित मिति: १३ श्रावण २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com