काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले नतिजा देखिने गरी काम गर्नुपर्ने स्पष्ट पारेका छन् । सिंहदरवारमा पद बहालीपछि आयोजित स्वागत कार्यक्रममा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित ४८ वटा जिम्मेवारीको बारेमा बोल्दै, ती जिम्मेवारीहरूमा बस्ने कर्मचारीहरूले ठोस परिणाम दिनुपर्ने बताएका हुन् ।

अर्यालले भने, “बेलाबेलामा गुनासो आउने गरेको छ । अब त्यस्तो गुनासो नआओस् । ‘गुनासो पनि आउने पदाधिकारी पनि त्यहाँ बसी राख्ने अब हुँदैन । सुरक्षा निकायमा पनि काम गरेको हुनाले मलाई छिटो रिजल्ट चाहिन्छ । ‘इफ’ र ‘बट’ मेरो कार्यकालमा हुँदैन ।’

अब प्रधानमन्त्री कार्यालय हिजोको जस्तो नहुने भन्दै उनले समन्वय गर्ने कार्य आफूले गर्ने प्रतिबद्धता जनाए । मुख्यसचिवको जिम्मेवारी धेरै रहेको उल्लेख गर्दै उनले अब सोही अनुसार कर्मचारीलाई दण्ड र प्रोत्साहनको व्यवस्था हुने बताए ।

अर्यालले निजामती सेवा ऐन जारी गर्न आफूले प्रधानमन्त्री, राजनीतिक नेतृत्व, संसदीय समिति र सांसदसँग समन्वय गर्ने बताउँदै, निजामती सेवा ऐन छिटो जारी हुने प्रतिबद्धता जनाए । उनले कर्मचारीहरूको वृत्ति विकासमा देखिएका समस्या समाधानका लागि उक्त ऐनको आवश्यकता औँल्याए ।

निजामती प्रशासनमा धेरै गुनासोहरू आउने गरेको भन्दै उनले नैतिकता, इमान्दारीता, स्वेच्छाचारीता र पारदर्शितामा कमी आएको बताउँदै, यसले कर्मचारी र जनताबीचको ग्याप बढाएको उल्लेख गरे । उनले निर्देशनहरू दिएर मात्र होइन, तिनलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । ‘मुख्यसचिवको समन्वयकारी भूमिका मात्र हुन्छ,सचिवहरू र महानिर्देशकहरुले नै काम गर्नुपर्ने हुन्छ, मुख्यसचिव अर्यालले भने ।

विभिन्न निकायहरूबिच समन्वयको अभाव रहेको र फाइलहरू एक निकायबाट अर्को निकायमा पठाउँदा प्राथमिकता नपाउने समस्या समाधान गर्नुपर्ने उनले बताए । उनले यातायात, राहदानी, वैदेशिक रोजगार लगायतका कार्यालयहरूको सुधारलाई पहिलो प्राथमिकतामा राख्ने बताए ।

अर्यालले तीन तहका सरकारबीच, साथै निजी क्षेत्र र सरकारबीच समन्वयको कमी रहेको भन्दै, आर्थिक वृद्धिका लागि नयाँ ढङ्गले काम गर्नुपर्ने आवश्यकता औँल्याए । एउटा निकायसँग जोडिएको फाइल अर्को निकायको कम प्राथमिकतामा पर्छ किन ?’ उनले प्रश्न गर्दै भने, ‘अब हामीले यो सरकारको काम हो भनेर सोच्नुपर्ने हुन्छ ।’
यातायात, राहदानी, वैदेशिक रोजगारसँग सम्बन्धित कार्यालयहरू, स्थानीय तहका वडा कार्यालयहरूबाट हुने सेवा प्रवाहमा समस्या रहेको भन्दै उनले पहिलो सुधारको प्राथमिकतामा ती कार्यालयहरू रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले सामाजिक सञ्जालमार्फत मुख्यसचिवलाई बधाई दिने सन्दर्भमा भएको निर्देशन हो । मलाई निर्देशन दिनु भनेको म मार्फत सबै निजामती सेवामा कार्यरत कर्मचारीहरू/सार्वजनिक सेवामा कार्यरत सबै साथीहरूलाई निर्देशन भएको हो ।’

समन्वयको अभावमा लगानीको वातावरण सिर्जना हुन नसकेको औँल्याउँदै मुख्यसचिव अर्यालले सबै तहका सरकारहरूबिच समन्वय रहेको बताए । ‘तीन तहको सरकारबीच समन्वय छैन । निजी क्षेत्र र सरकारबीच पनि समन्वय भएको छैन,’ उनले भने, ‘निजी क्षेत्रका साथीहरूले पनि कमेन्ट गरिरहनु भएको छ । हामी बीचमा खाडल छ । जसले गर्दा वैदेशिक लगानी र स्वदेशी लगानीको उचित वातावरण सिर्जना हुन सकिरहेको छैन ।’ आर्थिक वृद्धिका लागि नयाँ ढङ्गले काम गर्ने सोच बनाएको जानकारी दिँदै उनले कुन सेक्टरमा कसरी काम गर्ने भनेर मन्त्री र सचिवहरूसँग छलफल गर्ने गरी तयारी भएको जानकारी दिए ।

उनले कर्मचारीहरूसँग इमान्दार सहयोगको अपेक्षा राख्दै बिचौलियाको फाइदामा हुने काम आफ्नो कार्यकालमा नहुने भन्दै सबै कर्मचारीलाई राष्ट्र र जनताको हितमा काम गर्न निर्देशन दिए ।
‘मुख्यसचिवसँग एउटा कुरा गर्ने, मन्त्रीसँग एउटा कुरा गर्ने, जनतासँग एउटा कुरा गर्ने कदापी हुँदैन यो,’ उनले भने । सबैसँग एउटै कुरा गर्न उनको निर्देशन थियो । ‘बिचौलियालाई फाइदा हुने काम मेरो कार्यकालमा हुने छैन,’ उनले भने, ‘बिचौलिया कुनै एक जना मान्छे वा समूहलाई फाइदा हुने काम मैले गर्ने छैन । तपाईँहरूले पनि यो नगर्नु होला । मेरो निवेदन र अनुरोध छ ।’

कर्मचारीमा राष्ट्रिय भावनामा कमी आएको हो कि भन्दै उनले राष्ट्र र जनताको हितमा काम गर्न निर्देशन दिए । पूर्वाधार विकासका योजनाहरू अनुगमन र पूर्णता दिने विषयमा काम गर्न बाँकी रहेकोले उक्त क्षेत्रमा काम गर्ने सचिवहरूले यसमा ध्यान दिन उनको निर्देशन छ ।

प्रहरी ऐन, निजामती सेवा ऐन लगायतका विभिन्न ऐनहरू संशोधन गर्नुपर्ने भएकाले संशोधन गर्नुपर्ने ऐनहरूलाई प्राथमिकतामा राखेर काम गर्न र संशोधन भएका कानुनका नियमावली बनाउन उनले निर्देशन दिए । नीतिमा एउटा कुरा लेख्ने, कानुन भन्दा कार्यविधि र निर्देशिका फरक हुने गरी नबनाउन उनको निर्देशन छ ।

शासकीय सुधार र सुशासनका विषयमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । संचारमाध्यमा आएका विषयहरूलाई व्युरोक्रेशीले फिडब्याकका रूपमा लिनुपर्ने उनले बताए । ‘हामीले काम नगरेको कारणले, हामीले कोही वर्ग समूहलाई फेवरमा काम गरेको कारणले हाम्रो आलोचना भएको हो,’ उनले भने, ‘यो आलोचना सही हो कि होइन भनेर हामीले पहिचान गर्न सक्नुपर्ने छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदीय समितिहरूबाट भएका निर्देशनहरू पूर्णरुपमा पालना गर्न मुख्यसचिव अर्यालले निर्देशन दिए । अख्तियार र समितिले अनुसन्धान हुँदैछ भनेको आधारमा फाइल नरोक्न उनले निर्देशन दिए । उनले भने, ‘राज्य व्यवस्था समिति र अख्तियारले अनुसन्धान हुँदैछ भनेको आधारमा यहाँहरूले फाइलहरू रोक्नु भयो भने त्यो राम्रो हुने छैन । त्यो फाइल तपाई र म गएर सम्बन्धित निकायसँग डिल गरेर सट आउट गर्नुपर्छ । यो समन्वयकारी भूमिका म निर्वाह गर्छु ।’

काम नगरेकै कारण कर्मचारीहरूको आलोचना भएको उल्लेख गर्दै उनले काम गर्ने वातावरण बनाउन निर्देशन दिए । काम, कर्तव्य र अधिकार प्रति जिम्मेवारी हुन उनको निर्देशन छ । त्यस्ता कर्मचारीबारे सञ्चारमाध्यमले पनि खबरदारी गर्नुपर्ने उनको भनाइ छ।

अनावश्यक खर्च सिर्जना र स्रोत सुनिश्चितता दिने काम नगर्न मुख्यसचिव अर्यालले निर्देशन दिए । प्रधानमन्त्री कार्यालयमा आउने प्रस्तावहरू अङ्ग नपुगी आउने गरेको भन्दै उनले कुन आधारमा प्रस्ताव आएको हो, उक्त प्रस्ताव मन्त्रिपरिषद्मा आउनु पर्ने कारण र सबै अङ्ग पु¥याएर काम गर्न निर्देशन दिए ।

आफू मुख्यसचिव बनेको विषयमा सबै तिरबाट सकारात्मक प्रतिक्रिया आएकोले सोही अनुसार आफूले काम पनि गर्ने र सकारात्मक सहयोगको अपेक्षा राखेको उनको भनाइ छ । सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी नगर्न उनको निर्देशन दिए ।
एक सय दिनभित्र सरकारको प्रगति सार्वजनिक गर्ने तयारी भएकोले सोही अनुसार तयारी गर्न भन्दै व्युरोक्रेशीलाई कसरी लैजाने भन्ने विषयमा थप छलफल हुने उनले जानकारी दिए ।

  • प्रशासनबाट

प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com