काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले देशका लागि पारा ओलम्पिकमा ऐतिहासिक पदक जिताउने स्वयंसेवक प्रशिक्षक कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षकमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिकमामा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले देशका लागि ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । कविराज पलेशाको प्रशिक्षकको भूमिकामा थिए । उनले स्यवंसेवक प्रशिक्षकको भूमिकामा देशलाई थुप्रै महत्त्वपूर्ण सफलता दिलाइसकेका छन् ।

त्यसैले राखेपले उनलाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको हो । पलेशाको सम्मानमा बुधबार आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि कविराजको विषयमा कुरा उठाएका थिए ।

विगतमा पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी र उनीहरूका प्रशिक्षकलाई सफलताको कदर गर्दै राखेपमा सेवा गर्ने गरी नियुक्ति दिने प्रचलन थियो । सोही अनुरुप उनलाई पनि प्रशिक्षक नियुक्तिका लागि सिफारिस गरिएको राखेपले जनाएको छ ।

अन्तर्राष्ट्रिय लेभल–२ पारा तेक्वान्दो प्रशिक्षक लामाले विभिन्न अन्तर्राष्ट्रिय पारा तेक्वान्दोमा प्रशिक्षकका रुपमा हालसम्म नेपाललाई ११ पदक दिलाएका छन् । त्यसमा ३ स्वर्ण, २ रजत र ३ कांस्य रहेको छ । पेरिस पारा ओलम्पिकमा नेपालले जितेको कांस्य नेपाली खेलकुद इतिहासकै अहिलेसम्मको सबैभन्दा ठुलो उपलब्धि हो ।

पेरिस पारा ओलम्पिकअघि कुनै पनि ओलम्पिकमा नेपालले हालसम्म पदक जित्न सकेको थिएन । नेपालले पारा ओलम्पिकमा सन् २००४ (एथेन्स पारा ओलम्पिक) र गृष्मकालीन ओलम्पिकमा सन् १९६४ (टोकियो ओलम्पिक) देखि भाग लिन थालेको  थियो ।

राखेपले पेरिस पारालिम्पकमा पदक जित्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र नेपाल तेक्वान्दो संघलाई राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ मा व्यवस्था भए अनुसारको नगद पुरस्कारका लागि पनि सिफारिस गरिसकेको छ । पेरिस पारालिम्पिकमा पलेशाले के–४४ समूहअन्तर्गत महिला ५७ केजीभन्दा मुनिको तौलसमूहमा ऐतिहासिक कांस्य पदक जितेकी हुन् ।

प्रकाशित मिति: २१ भाद्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com