रूपन्देही । रूपन्देही जिल्लाको कञ्चन गाउँपालिका-१, सुन्दर टोलमा एक युवकले आफ्नै आमाको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार २० वर्षीय सरोज परियारले ४५ वर्षीया आमा पार्वती परियारलाई हँसिया प्रहार गरी हत्या गरेका हुन्।
प्रहरी अनुसन्धानका क्रममा बुधबार राति करिब १ बजे सरोजले आमाको आँखामा र हातमा हँसिया प्रहार गरी हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रमुख रञ्जित सिंह राठौरले हत्या आरोपी सरोजमा मानसिक समस्या रहेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको बताए।
‘घटनापछि आरोपी फरार भएका थिए, तर प्रहरी टोलीले खोजी गर्दै बिहीबार बिहान उनलाई पक्राउ गर्न सफल भयो,’ राठौरले भने।
मृतक पार्वती परियार आफ्ना कान्छा छोरासँगै घरमा बस्दै आएकी थिइन्, जबकि जेठा छोरा रोजगारको सिलसिलामा भारतमा रहेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहिबार
प्रतिक्रिया