- सौरभ भण्डारी
नेपालमा आर्थिक विकासको मेरुदण्ड मानिने निजि क्षेत्र पछिल्लो दिनहरुमा अनिश्चितता, नितिगत अन्योलता र प्रशासनिक झमेला बाट मात्र होइन संगठित मिडिया ट्रायल र सामाजिक अभियन्ताहरुको अस्वभाविक दबाबको कारण संकटमा छन्। हजारौं नागरिकलाई रोजगारी दिँदै राजस्व मार्फत राज्यको ढुकुटीमा महत्वपूर्ण योगदान दिने व्यवसायी लक्षित कपोलकल्पित तथा भ्रमपुर्ण प्रचार गर्दै अभियन्ता र मिडियाले गर्ने गरेको ब्ल्याकमेलिङको कारण प्रतिष्ठित उद्योगी व्यवसायीहरुले निकै हैरानी खेपिरहेका छन्।
भनिन्छ मिडिया समाजको ऐना हो। समाज जस्तो छ, त्यसको तस्बिर जस्ताको त्यस्तै मिडियामा देखिनुपर्ने हो तर समाजको विकृतिको विरुद्ध पहरेदारी गर्ने जिम्मेवारी पाएको प्रेस आफैं ‘बार्गेनिङ’ गर्ने र तथ्यहिन समाचार प्रवाह गर्ने गलत प्रवृत्तिमा संलग्न हुनु कदापि राम्रो मान्न सकिँदैन । सामान्यतया: समाजको अगुवा वा समाजमा असल काम गरेर सकारात्मक सन्देश प्रवाह गर्ने मान्छेको रुपमा सामाजिक अभियन्ता परिभाषित छ। सामाजिक अभियन्ता बन्नु आफैंमा कठिक काम हो। तर अचेल सामाजिक अभियन्ता बन्न निकै सजिलो छ । अहिले नेपाली समाजमा अभियन्ताको परिभाषा नै बदलिएको छ। निस्वार्थ भावले असल कर्म गरेर समाजको उत्प्रेरक बन्नु अभियन्ता होइन। सडकमा उभिएर आफुलाई मन नपरेको मान्छेलाई गाली गर्न सके अभियन्ता बनिन्छ। अभियन्ता कमाइको माध्यम हो र समाजमा हिरोइज्म प्रस्तुत गर्ने सुनौलो मौका पनि हो । उग्र कुरा गरेर केही हजार समर्थक बटुल्न सके अभियन्ताका रुपमा स्थापित हुन सकिन्छ।
अरुलाई नैतिकता र सदाचारको प्रश्न उठाउने मिडियाकर्मि र अभियन्ता आफैं पानी माथिको ओभानो छन त ? उनिहरु यति धेरै विवादित छन् कि, विवादित नभएसम्म पत्रकार र अभियन्ता नै बन्न मिल्दैन जस्तो मानसिकता स्थापित भईसकेको छ। कथिक अभियन्ता र मिडियाकर्मिहरुमाथी अहिले उठेका सबैभन्दा ठूलो प्रश्न हो- आर्थिक पारदर्शिता । दैनिक १२ घण्टा काम गर्दा समेत दुई छाक टार्न धौधौ हुने हाम्रो समाजमा उनिहरुले अपनायको उच्च जिवनशैली कसरी सम्भव छ ?
मिडिया-अभियन्ता गठबन्धन
नितान्त फरक पाटो भएपनी मिडिया र अभियन्ताको गठबन्धन व्यावसायिहरु माथी योजनाबद्ध रुपमा दबाब सिर्जना गर्ने र उनीहरुलाई ‘भ्रष्ट’ करार गर्दै चरित्र हत्या गर्नेमा केन्द्रित देखिन्छ । नेपालमा केही मिडिया संस्थाहरु व्यावसायीबिरुद्ध योजनाबद्ध रुपमा प्रचारबाजी गर्ने उपकरणको रुपमा प्रयोग भएका छन्। प्रमाणित नभएका आरोपहरुलाई सनसनिपूर्ण रुपमा प्रस्तुत गर्ने, कानुनी प्रक्रियालाई बेवास्ता गर्दै अदालतले भन्दा पहिले नै दोषी करार गर्दै अपराधी झैं चित्रित गर्ने प्रवृत्ति मौलाउदै गएको छ। अभियन्ताबाट सांसद बनेका ज्ञानेन्द्र शाही, पुण्य गौतम, हेमराज थापा, निकोलस भुषाल देखि दुर्गा प्रसाईं सम्मलाई हेर्ने हो भने मिडिया सङ्गको गठबन्धन निकै शंकास्पद देखिन्छ। ‘द डार्क फाइल’ अभियानका संस्थापक बताउने राजकुमार तिमल्सिना र मिडियाको गठबन्धनको धन्दाले सिङ्गो मिडिया क्षेत्रको विश्वसनीयता माथी नै प्रश्न चिन्ह खडा भएको छ । केही थान युट्युबर बोकेर कन्सल्टेन्सी र मेनपावर व्यावसायीमाथी हातपात गर्दै उक्त भिडियो युट्युब मार्फत प्रशारण गरेर चरित्र हत्या गर्ने अभियन्ताहरुको बिगबिगीको विरुद्ध व्यावसायीहरु प्रतिकारमा उत्रिएपछि उनिहरुको धन्दाको पर्दाफास भएको थियो। त्यस्तै, आफैंमा मेडिकल ब्यबसायी दुर्गा प्रसाईं पछिल्लो समय अभियन्ताको रुपमा युट्युब मिडिया सङ्गको गठबन्धन गर्दै प्रतिष्ठित व्यवसायी, बैंक तथा बित्तीय संस्थाको विरुद्ध खरो रुपमा प्रस्तुत भएका थिए। आफुले अरबौं रुपैयाँ बैंकको ऋण लिएपछि बैंक विरुद्ध नै मिडिया मार्फत विष बमन गरेर बैंकलाई किस्ता तिर्नुपर्दैन भन्ने अभियान संचालन गरेका थिए। मिडियामा खरो रुपमा मारवाडी व्यवसायी विरुद्ध खनिएका प्रसाईंले तिनै मारवाडी बाट आर्थिक लाभ लिएको आशंका गर्ने धेरै आधारहरु भेटिन्छन्। माथी उल्लेखित सबै अभियन्ताको धन्दा नजिकबाट नियाल्ने हो भने मिडिया सँगको गठबन्धन शक्तिशाली हतियारको रुपमा प्रयोग भएको देखिन्छ।
बार्गेनिङको नयाँ अस्त्र
केही वर्ष अगाडी सम्म काङ्ग्रेस, एमाले र माओवादीको नाममा खुलेआम चन्दा असुली हुन्थ्यो। टोले गुण्डाहरुबाट हप्ता असुली हुन्थ्यो। चन्दा र हप्ता असुलिबाट व्यावसायीहरु आजित थिए। तर अहिले समय सङ्गै चन्दा असुल्ने धन्दाको तरिका बदलिएको छ। अहिले अभियन्ता र मिडिया असुली धन्दामा एकै सिक्काका दुई पाटा जस्ता देखिने गरेका छन्। नेपालमा कुनै व्यवसायीहरुमाथी कुनै विवाद आउनासाथ मिडियाले दोषी साबित नभई भ्रष्ट वा अनैतिकको रुपमा चित्रित गरिदिन्छ। त्यसपछि, सामाजिक अभियन्ताहरु अनलाइन क्याम्पेन सुरु गर्छन र त्यही मिडियाहरु मार्फत व्यवसायी विरुद्ध अभियन्ताहरु धम्किपुर्ण भाषा प्रयोग गर्छन्। एक व्यवसायी जसले आफ्नो नाम नबताउने शर्तमा भने “हामी माथी निरन्तर नकारात्मक समाचार आउन थाल्यो। कुनै कानुनी कारबाही नभएको अवस्थामा पनि हामीलाई बदनाम गरियो। पछि थाहा भयो कि समाचार हटाउन र सकारात्मक बनाउन त्यहि समूहले ‘सम्झौता’ को प्रस्ताव ल्याए।” केही व्यवसायीहरु आफ्नो छवि जोगाउन मिडिया वा अभियन्ताहरु सङ्ग सम्झौता गर्न बाध्य हुने गरेका छन्। जसले सम्झौता गर्न मान्दैनन उनिहरुलाई निरन्तर संजालहरु मार्फत आक्रमण गरिन्छ, त्यसैले पनि व्यवसायीहरुले अनौपचारिक सम्झौता गर्नुपर्ने अवस्था आउँछ । यसमा कतिपय अवस्थामा मिडिया ट्रायल प्रतिस्पर्धी व्यवसायीहरुको लागि हतियार बन्ने गरेको छ। उनिहरुले मिडियालाई विज्ञापन वा कुनैपनी आर्थिक प्रलोभन देखाएर आफ्नो प्रतिस्पर्धीहरुको छवि बिगार्ने प्रयास गरेको देखिन्छ। नियोजित रुपमा बदनाम भएपछि सम्बन्धित व्यवसायीको ब्यापारमा ठूलो नकारात्मक प्रभाव पर्छ भने केही व्यवसायीहरु प्रतिस्पर्धाबाट नै बाहिरिनुपर्ने अवस्था आउँछ।
सञ्चार माध्यम तथा सम्वद्ध व्यक्तिहरुले बार्गेनिङ गर्ने गरेको र विज्ञापन वा पैसा नदिए जथाभावी समाचार लेख्ने गरेको भन्ने पटकपटक व्यवसायीहरुको गुनासो आएपछि २०७८ पौष २५ गते नेपाल प्रेस काउन्सिलले नै वक्तव्य जारी गरेपछि ‘बार्गेनिङ पत्रकारिता’ को विषयले निकै चर्चा पाएको थियो । काउन्सिलले जारी गरेको वक्तव्यले पछिल्लो समय सञ्चार माध्यम तथा सम्वद्ध व्यक्तिबाट विज्ञापनको अनावश्यक दबाब एवं अन्य ‘बार्गेनिङ’ गर्ने र विज्ञापन दिन अस्वीकार गरेमा तथ्यहीन तथा आधारहीन समाचार प्रकाशन, प्रशारणको धम्की दिने प्रवृति देखिएकोप्रति सम्बन्धित सबैलाई सचेत गराएको थियो । काउन्सिलको उक्त वक्तव्यले नेपाली मिडियामा विज्ञापनका लागि ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार लेख्ने प्रवृत्तिको पुष्टि पनि भएको छ।
प्रतिष्ठित व्यवसायीक घरानाहरु माथी गलत प्रचारका उदाहरणहरु
नेपालका प्रतिष्ठित औधोगिक घरानाहरु विशाल ग्रुप, गोल्छा अर्गनाइजेसन, चौधरी ग्रुप, ज्योति ग्रुप, दुगड ग्रुप, प्रभु ग्रुप लगायतका व्यवसायीक प्रतिष्ठानहरुले दशकौं सम्म देशको आर्थिक उन्नतिमा योगदान दिएका छन्। तर केही घटनामा मिडियाले उनिहरुमाथी एकपक्षीय रुपमा आक्रमण गर्दा उनिहरुको छवि धुमिल हुनुका साथै समग्र उद्योग क्षेत्रमा नै नकारात्मक प्रभाव परेको छ।
नेपालको पुरानो औधोगिक घराना गोल्छा ग्रुप लामो समय देखि व्यापारीक क्षेत्रमा छ। बैंक तथा बित्तिय संस्थाहरुमा सम्बन्ध भएका कारण ‘अर्थतन्त्र कब्जा गर्न खोज्ने’ देखि कानुनसम्मत भएको लगानीसम्बन्धि निर्णयलाई पनि गलत व्याख्या गर्दै ‘पुरानो औधोगिक घराना भए भन्दैमा उनिहरुलाई विशेष सुविधा दिइन्छ भन्ने गलत प्रचार भयो। देश भित्रै उद्योग विस्तार गर्न खोज्दा समेत तिनलाई ‘नाफामुखी मात्रै सोच्ने उद्योगपति’ भनेर आलोचना गरियो।
नेपालकै पहिलो बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुप जसले स्वदेशी तथा विदेशी लगानी भित्राएर देशको आर्थिक समृद्धिमा ठूलो योगदान दिएको छ। तर, पछिल्लो दशकमा यस ग्रुप माथी पटक-पटक भ्रमपुर्ण आरोप लगाइएका छन्। चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी सक्रीय राजनीतिक जिवनमा रहेको कारण पनि उनका विपक्षिहरुले व्यवसायीक छवि माथी आरोप लगाउदै प्रतिशोधको राजनीति गर्ने गरेका छन्। कानुनसम्मत सरकारी निकाय सँग भएका सम्झौतालाई समेत काल्पनिक कथा बनाएर बदनाम गर्नेगरेको पाइन्छ। पछिल्लो समय वाइवाई चाउचाउको डिलरले ओसिलो ठाउँमा भण्डारण गरेको विषयलाई लिएर केही मिडियाहरुले वाइवाई चाउचाउ विरुद्ध समाचार बङ्याएर गलत सन्देश प्रवाह गर्नु र त्यस लगत्तै दुर्गा प्रसाईंले संचालन गरेको अभियानले सिजि फुड्स माथी तोडफोड गर्नुले मिडिया र अभियन्ताको गठबन्धन पुष्टि हुन्छ। यस्तै अन्य प्रतिष्ठित व्यावसायिक घरानाहरुलाई अवैध सम्पत्ति आर्जन, पहुँचको दुरुपयोग, अनुचित कारोबार, कर छली जस्ता गलर प्रचारवाजी हुने गरेको छ।
व्यवसायी माथी निरन्तर गलत प्रचार भइरहँदा लगानीमैत्री वातावरण नष्ट हुँदै जाने, रोजगारी सिर्जनामा असर पर्ने, कानुनी प्रक्रिया कमजोर बन्ने खतरा बढ्ने देखिन्छ। त्यसैले मिडिया आचारसंहिता कडाइका साथ लागू गरिनुपर्छ, व्यवसायीहरु माथी कानुनी निर्णय आउनुअघि नै हुने प्रचारवाजी रोकिनुपर्छ, व्यवसायी र मिडिया तथा अभियन्ताहरु सँग पारदर्शी संवाद हुनु अनिवार्य देखिन्छ। नेपालमा व्यवसायीहरू अहिले अभूतपूर्व दबाबको सामना गरिरहेका छन्। मिडिया र अभियन्ताहरूको ‘बार्गेनिङ अस्त्र’ का कारण व्यापार गर्ने वातावरण झन् असहज बन्दै गएको छ।
यदि व्यवसायीहरूले नै निरन्तर रूपमा आक्रमण झेल्नुपर्यो भने, देशमा लगानी घट्ने मात्र होइन, आर्थिक अस्थिरता झन् चर्किंदै जान्छ। सही व्यवसायलाई संरक्षण गर्दै, अनावश्यक प्रचारबाजी नियन्त्रण गर्ने नीति अवलम्बन गर्न ढिला गर्नु हुँदैन।
“व्यवसायमैत्री वातावरण सिर्जना गरौं, आर्थिक समृद्धि सुनिश्चित गरौं!”
- (माथी उल्लेखित विषयमा सबै मिडिया वा अभियन्ता खराब छन् र सबै व्यवसायी सहि छन भन्न खोजिएको छैन।) – लेखक
प्रकाशित मिति: २ चैत्र २०८१, आइतबार
प्रतिक्रिया