• सौरभ भण्डारी

षड्यन्त्रको पृष्ठभुमि

नेपाल र भारतबीचको सम्बन्ध सांस्कृतिक, धार्मिक, ऐतिहासिक र भौगोलिक हिसाबले अत्यन्तै घनिष्ठ छ । तर इतिहासलाई नजिक बाट विश्लेषण गर्ने हो भने बि.सं २००६ साल देखि नै भारतीय शासकको दबाब, प्रभाव र टकराब निरन्तर रह्यो । २००७ सालको प्रजातान्त्रिक आन्दोलन नेपाली जनता र राजसंस्थाको संयुक्त प्रयासको परिणाम भए पनि प्रजातान्त्रिक आन्दोलनमा प्रत्यक्ष भारतीयको संलग्नता र हस्तक्षेप रह्यो। जब भारत सन् १९४७ मा स्वतन्त्र भयो, तब भारतीय सरकार (विषेश गरी नेहरु नेतृत्व को काङ्ग्रेस पार्टी) ले राणा शासनलाई अस्विकार गर्दै नेपालमा आफ्नो प्रभाव विस्तार गर्ने योजना बनायो।

भारतीय स्वतन्त्रताको आन्दोलनमा राणा शासकहरुले अंग्रेजहरु लाई सैन्य सहयोग दिएको थियो जसले राणा शासक र अंग्रेज प्रशाशकहरुको सम्बन्ध अत्यन्तै निकट बनाएको थियो। उक्त विषयमा तत्कालीन भारतीय स्वतन्त्रताको पक्षधरहरु नेपालका राणाहरु प्रती अत्यन्तै रुष्ट थिए। जब भारत सन् १९४७ मा स्वतन्त्र भयो तब नेपालका राणा शासकहरु माथी बदला लिने अवसरको खोजिमा गर्न लागेका थिए। भारतीय स्वतन्त्रता सङ्ग्रामका योद्धा भनिएका विश्वेश्वरप्रसाद कोइरालालाई अगाडी सारेर २००३ साल कार्तिक १५ गते देवि प्रसाद सापकोटाको सभापतित्वमा पं जवाहरलाल नेहरुले बनारसमा हेडक्वाटर हुनेगरि अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस पार्टी गठन गरेर सशस्त्र क्रान्तिको बाटो बाट राणाहरुलाई बदला लिने रणनीति लिए। मातृकाप्रसाद कोइराला, बिपि कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह लगायतका नेताहरुलाई बनारस, कोलकाता, पटना र दिल्ली राखेर नेपालमा सशस्त्र क्रान्तिको सुरुवात तत्कालीन भारतीय सरकारले नै गरायो।

यता, नेपालमा तत्कालीन राजा त्रिभुवन राणा शासनको अन्त्यको अवसरको खोजिमा थिए। राणा र राजाको द्वन्द चरमोत्कर्षमा थियो। राजा त्रिभुवन आफ्नो लागि काठमाडौं असुरक्षित रहेको ठानी पाल्पा जाने तयारीमा थिए। तर भारतीय दुत राजा त्रिभुवनलाई दिल्ली लाने मौका खोजिरहेका थिए। २००७ साल कार्तिक २३ गते राजाले अस्वीकार गर्दा गर्दै पनि दबाब र प्रभावमा पारेर राजा त्रिभुवनका सपरिवार दिल्ली पुर्याउन भारतीयहरु सफल भए। राणा शासनको विरुद्ध नेपालमा आन्दोलनले उग्ररुप लिदै थियो । अन्ततः तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले आफ्नो संयोजकत्वमा २००७ साल फागुन १ गते राणा, काङ्ग्रेस र राजा बिच त्रिपक्षीय ५ बुदे दिल्ली सम्झौता गराउन सफल भए। अब नेहरुको नेपाल नीति राणा शासकहरु सङ्ग बदला लिने मात्रै रहेन। अब नेपाललाई आफ्नो चाहना अनुसार कसरी नचाउने भन्नेतर्फ केन्द्रित भैसकेका थिए। फलस्वरूप नेहरु सरकारले भारतका पुर्व मुख्यसचीव गोबिन्द नारायणलाई राजा त्रिभुवनको निजि सचीव बनाएर नेपाल पठाए। त्यही बाट नेपाल माथिको भारतीय काङ्ग्रेसको कुदृष्टीको सुरुवात भयो।

राजा महेन्द्र र पञ्चायत विरुद्ध चलखेल

बि.सं २०११ फाल्गुन ३० गते स्विजरल्याण्डमा राजा त्रिभुवनको हत्या पछि युवराज महेन्द्र राजा बने। पिता त्रिभुवनको भारत प्रतिको उदारता बाट रुष्ट युवराज महेन्द्र राजा बनेपछि भारतीयहरुलाई निकै ठूलो टाउको दुखाई बन्यो। पिता त्रिभुवनको पार्थिव शरिरमा भारतको राष्ट्रिय झण्डा ओडाएको बिषयमा झनै रिसाएका महेन्द्र अत्यन्तै दुरदर्शि र क्रान्तिकारी स्वभावका थिए। नेपाल परनिर्भर होइन हरेक क्षेत्रमा स्वतन्त्र र आत्मनिर्भर हुनुपर्छ भन्ने मान्यता बोकेका राजा महेन्द्र नेपालमा शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रलाई बिस्तार गर्न चाहान्थे। तर भारत समर्थित नेपाली काङ्ग्रेसका नेताहरुले राजा महेन्द्रलाई रोक्न अनेक षड्यन्त्र गरेपछि भारतको प्रभाव कम गर्न २०१७ सालमा निर्दलिय पञ्चायती व्यावस्था लागू गरे। दक्षिण तर्फ रहेको भारतमा बहुदलीय ब्यबस्था थियो। त्यसैले पनि भारत नेपालमा बहुदलीय ब्यबस्था होस भन्ने चाहान्थ्यो।

उत्तर तर्फ चीनमा एकदलीय ब्यबस्था थियो। एक दलिय ब्यबस्था लागू गर्दा चीन निकट देखिने र बहुदलीय ब्यबस्था लागू गर्दा भारत निकट देखिने हुँदा नेपाल एक स्वतन्त्र राष्ट्र हो भन्ने संदेश दिनको लागि पनि राजा महेन्द्रले निर्दलिय पञ्चायती ब्यबस्था लागू गरेका थिए। २०१७ साल पछि विकासको मुल फुटाएर नेपाल स्वर्णयुगमा प्रस्थान गर्यो। जवाहरलाल नेहरुकी छोरी तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले राजा महेन्द्रलाई नेपाल भारतमा गाभ्न गरेको प्रस्तावमा गाभिएपछिको देशको नाम नेपाल रहने हो भने आफू तयार भएको जवाफ दिएका थिए। पञ्चायत सुरु भएपछि हजारौं सरकारी विद्यालय खुल्यो, विश्वविद्यालय खुल्यो, सयौं कलकारखाना खुल्यो, सयौं सरकारी अस्पताल खुल्यो, पुर्वपस्चिम राजमार्ग लगायत दर्जनौं राजमार्ग खुल्यो। यो सबै भारतीयहरुलाई चित्त बुझेको थिएन। भारतले राजा महेन्द्रलाई घेराबन्दी गर्ने अनेकौं प्रयास गरे तर, राजा महेन्द्रले चीन सङ्गको दौत्यसम्बन्धको कारण भारत सङ्ग सन्तुलन कायम गरे। जब २०२८ माघ १७ गते चितवनमा राजा महेन्द्रको रहस्यमय मृत्यु भयो तब नेपाललाई स्वतन्त्र, सार्वभौम र विकसित मुलुक बनाउने राजा महेन्द्रको सपना पनि उनी सङ्गै अस्ताए।

राजा बिरेन्द्र र माओवादी द्वन्द

राजा महेन्द्रको शासनकालमा निरीह बनेको भारतीय शासक गान्धी परिवार महेन्द्रको शासनकाल पश्चात् पुन: सकृय भए। तर महेन्द्रको दुरदर्शिता बाट सुरुभएको पञ्चायती ब्यबस्थाको जग निकै बलियो बनिसकेको थियो। इन्दिरा गान्धीले बिपि कोइरालालाई प्रयोग गरेर पञ्चायतको जग भत्काउन लामो प्रयास गरे।

सिक्किम भारतमा बिलय गराउने षड्यन्त्रलाई नजिक बाट नियालेका बिपि कोइराला अन्ततः आफुलाई सिक्किमका लेण्डुप दोर्जे बनाउन खोजेको बुझेपछी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किए। राजा बिरेन्द्रले २०३७ साल बैशाख २० गते पञ्चायती ब्यबस्था र बहुदलीय ब्यबस्था बिचमा जनमतसंग्रह गरे। ५५.९९% मत पञ्चायती ब्यबस्थाको पक्षमा खस्यो। जनमतसंग्रह पछि पञ्चायतको जग झनै बलियो भयो। बहुदलीय ब्यबस्थाको पक्षमा तराईका जिल्लाहरू बाट मात्र मत आउनुको पछाडी भारतीय चलखेल हो भन्ने सहजै बुझ्न सकिन्थो। राजा बिरेन्द्रले नेपाललाई संयुक्त राष्ट्रसंघमा ‘शान्ति क्षेत्र’ घोषणा गर्न अन्तर्राष्ट्रिय समर्थन खोजेपछि भारतीय प्रधानमन्त्री राजिव गान्धी रुष्ट भए। परिणामस्वरूप २०४५ सालमा राजिव गान्धीले नेपाल माथी नाकाबन्दी गरे।

१२ बामपंथी दलहरुले साहना प्रधानको नेतृत्वमा गठन भएको बाम मोर्चा र नेपाली काङ्ग्रेसले २०४६ माघ ७ बाट संयुक्त जनआन्दोलनको घोषणा गरेको थियो। पर्दा बाहिर आन्दोलनको नेतृत्व काङ्ग्रेसका नेता गणेशमान सिंहले गरेको देखिएपनी पर्दापछाडी आन्दोलनको नेतृत्व भारतीय काङ्ग्रेसले गरेको थियो।

पञ्चायत ढलेको ६ महिना पछि भारतका प्रधानमन्त्री बनेका भारतीय नेता चन्द्रशेखरले काठमाडौंको चाक्सिबारीमा आमसभा गरेर पञ्चायतको विरुद्ध भाषण गरेपछी आन्दोलनले उग्र रुप लिएको थियो। धनजनको क्षती निकै भयावह हुने देखेपछि राजा बिरेन्द्रले २०४६ चैत्र २६ गते आन्दोलनतर दलहरू सङ्ग सम्झौता भइ निर्दलिय पञ्चायती ब्यबस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको पुनर्बहाली भएको थियो।

२०४६ सालको जनआन्दोलन पश्चात् सर्बोच्च अदालतका न्यायाधीश विश्वनाथ उपाध्याय को अध्यक्षतामा गठित ९ सदस्यीय संबिधान सुधार सुझाव आयोगले ८ महिना लगाएर निर्माण गरेको संबिधान २०४७ साल कार्तिक २३ गते राजा बिरेन्द्रले घोषणा गरे। २०४७ को संबिधानको मस्यौदामा भारतीय पक्ष निकै असन्तुष्ट थियो। उनिहरु संबिधानको भाग १ को धारा २ र ३ मा नै असन्तुष्ट थिए। नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित हुने र राष्ट्रिय स्वतन्त्रता र अखण्डताको विरुद्ध कसैले कुनै किसिमको गतिविधि गर्न नपाउने ब्यबस्था भएपछि भारतीय पक्ष संविधान घोषणा हुन नदिने रणनीतिमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दबाद दिइरहेका थिए। तर तत्कालीन शाही नेपाली सेनाका प्रधानसेनापति सचित शम्शेर जवराले संबिधान घोषणा गर्न तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई चर्को दबाब दिएपछि संविधान घोषणा भएको थियो।

पञ्चायती ब्यबस्थालाई पाखा लगाएर नयाँ संबिधान मार्फत नेपाललाई आफू अनुकुल बनाउन भारतीय पक्षले गरेको अनेकौं षड्यन्त्र, लगानी र समय सबै बालुवामा पानी हालेजस्तो भएको थियो। एकातिर नेपाली सेनाले चीन सङ्ग हतियार खरिद प्रक्रिया अगाडि बढाएको थियो भने अर्को तर्फ आफैंले श्रीलंकामा जन्माएको तामिल टाइगरले २०४८ सालमा भारतका पुर्वप्रधानमन्त्री राजीब गान्धी माथी हात्मघाती हमला गर्यो। राजीव गान्धी उक्त हमलामा मारिए। उक्त घटनामा नेपालको राजपरिवारको संलग्नता रहेको भारतीयहरु सङ्ग सूचना पुग्यो ।

त्यही सेरोफेरोमा राजा बिरेन्द्र सङ्ग मात्र होइन पञ्चायत विरुद्ध लडेका राजनीतिक पार्टीहरु सङ्ग समेत निकै रिसाएको भारतीय पक्षले नेपालको संबिधान र राजा विरुद्ध नेपाललाई गृहयुद्धमा धकेल्ने नयाँ रणनीति बनायो। उक्त रणनीतिलाई अगाडि बढाउन नेपालको तर्फबाट जेएनयुका विद्यार्थी नेता डा बाबुराम भट्टराई र पुष्पकमल दाहाल लाई तयार गरियो भने भारतीय पक्षबाट भारतीय खुफिया एजेन्सी ‘रअ’ ले सबै बन्दोबस्त गर्ने गरि भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सिताराम येचुरीलाई प्रमुख सल्लाह बनाइयो। बाहिरबाट हेर्दा चीनले नेपाललाई गृहयुद्धमा फसाइदिएको देखिने गरि भारतीयहरुले चीनका कम्युनिस्ट नेता माओत्सेतुङको नाम राखेर भुमिगत संगठनको नाम माओवादी राखिदियो।

चीनसँग राम्रो सम्बन्ध स्थापित गरेका राजा बिरेन्द्रलाई चीन सङ्ग शंका पैदा गराउन भारतीय पक्षबाट निकै प्रयास भएको थियो। तर राजा बिरेन्द्रले सबै घटनाक्रमलाई नजिक बाट बुझेका हुनाले माओवादी द्वन्दको विषयलाई लिएर चीनलाई शंकाको दृष्टिकोण बाट कहिल्यै हेरेनन। यसैक्रममा २०५२ साल फाल्गुन १ गते पुष्पकमल दाहालको नेतृत्वमा माओवादी सशस्त्र बिद्रोह घोषणा भयो। नेतृत्व प्रचण्डले गरेको देखिए पनि भित्री रुपमा बाबुराम भट्टराई मार्फत भारतीयले गरेका थिए।  माओवादीलाई आवश्यक पर्ने हातहतियार देखि नेताहरुलाई सेल्टर दिने कामको ब्यबस्थापन ‘रअ’ ले गर्न थाल्यो। एकातिर रोल्पा, रुकुम र कालिकोट जस्ता विकट क्षेत्रका सोझा विषेशगरि मगर समुदाय र काभ्रे, रामेछाप र नुवाकोट क्षेत्रका तामाङ समुदायका युवाहरूलाई राज्य विरुद्ध भ्रम सिर्जना गर्दै सुनौलो सपनाको भारी बोकाएर आफ्नो जिवनलाई बलिदान दिनको लागि तयार पार्न सफल भए भने अर्को तिर अधिकांश माओवादी नेताहरू भने भारतका पाँचतारे होटलमा आरामदायी जीवन गुजारा गर्न थाले।

नेपालमा सत्ताको बागडोर सम्हालेका काङ्ग्रेस र एमालेका नेताहरुले भारतको इशारामा नेपालका प्रहरी चौकी माथी माओवादी आक्रमणलाई भित्रीरूपमा सहयोग गर्न लागे। माओवादी हिंसाले उग्र रुप लिँदै थियो। त्यसबाट हौसिएका प्रचण्डले आफ्नो सम्पर्क अन्य युरोपेली देश सम्म बिस्तार गरेर आवश्यक सहयोग संकलन गर्न लागे। भारतको झारखण्ड र मणिपुर राज्यमा माओवादी सशस्त्र आन्दोलन संचालन गरिरहेका भारतीय माओवादी नेताहरू सम्म प्रचण्डको सम्पर्क हुनथालेको भारतले चाल पाएपछि रोल्पाको होलेरीमा सबै माओवादी नेताहरुलाई सखाप पार्ने नीति भारतीय पक्षले लियो तर तत्कालीन समयमा राजाले माओवादी पनि बाटोबिराएका नेपाली जनता हुन शान्तिपुर्ण बार्ताको माध्यमबाट समाधान गर्नुपर्छ भनेर होलेरीमा कारबाहीको लागि सेना परिचालन गर्न अस्विकार गरे।

बाबुराम भट्टराई भारतको लागि इमानदार देखिए भने प्रचण्ड घातक हुने भारतीयले आँकलन गरेका थिए। एक पछि अर्को झटका भारतीय पक्षलाई लागिरहेको थियो। श्रीलंकाको तामिल टाइगर माथी भारतीय चालबाजीलाई नजिक बाट नियालिरहेका प्रचण्डले माओवादी आन्दोलनको पनि तामिल टाइगरको जस्तै हालत हुने बुझेपछि राजा सङ्ग वार्ताको बाटो खोजिरहेका थिए। तर प्रचण्डले खोजेको शान्ति वार्ताको बाटो गान्धी परिवारले रोकिरहेको थियो।

गान्धीपरिवार र नेपालको राजपरिवार बीचको सम्बन्ध कहिल्यै सरल र सहज भएन।गान्धीपरिवार र  राजपरिवारको लामो समय देखि टकराब चलिरहेको थियो। राजिव गान्धी नेपाल भ्रमणमा आउँदा उनकी पत्नी क्रिश्चियन धर्मावलम्बी सोनिया गान्धीले जसरी पनि पशुपतिनाथ दर्शन गर्ने ढिपी गरिन्। यो विषय राजा बिरेन्द्र सम्म पुग्यो तर राजा बिरेन्द्रले नेपाल एक मात्र हिन्दु राष्ट्र भएको र पशुपतिनाथ विश्वभरका हिन्दुको आस्थाको केन्द्र भएको हुँदा गैह्रहिन्दु प्रवेश निषेध रहेको धार्मिक नियममा आफूले केही गर्न नसक्ने बताएपछी सोनिया गान्धी निकै आक्रोशित भएकी थिइन।

राजिव गान्धिको हत्या पछि भारतीय शक्तिकेन्द्र बनेकी सोनिया गान्धी त्यही ‘इगो’ ले नेपाललाई धर्मनिरपेक्षता बनाउने रणनीति बनाइन। नेपालका राजपरिवार सङ्ग जवाहरलाल नेहरु उनकी छोरी इन्दिरा गान्धी, नाति राजिव गान्धी हुँदै पनाती राहुल गान्धी सम्म आइपुग्दा निकै नै पेचिलो बन्दै गएको थियो। चीनलाई सार्क राष्ट्रमा समावेश गर्ने राजा बिरेन्द्रको प्रयास, चीन सङ्ग नेपाली सेनाको लागि हातहतियार खरिद, सोनिया गान्धिलाई पशुपतिनाथ प्रवेशमा निषेध, भारतीय प्रधानमन्त्री राजिव गान्धिको हत्यामा राजदरबार माथी शंका, भारतिय नक्कली नोटका बादशाह अन्डर्वर्ल्ड डन दाउद इब्राहिमलाई नारायणहिटी राजदरबारमा लुकाइराखेको गलत सूचना नै २०५८ साल जेठ १९ गते नेपाली इतिहासकै कहालीलाग्दो दरबार हत्याकाण्डको कारण बनेको थियो।

  • (दरबार हत्याकाण्ड, जन-आन्दोलन, गणतन्त्र र धर्म निरपेक्षता, २०६३ को अन्तरिम संबिधानमा भारतीय असहमति पछिको मधेस आन्दोलन, २०७२ को संबिधानमा भारतीय असहमति र नाकाबन्दी बारे अर्को भागमा लेख्नेछु। -लेखक)

प्रकाशित मिति: ६ चैत्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com