काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानलाई विफल पार्न विपक्षीहरू निरन्तर लागिपरेको आरोप लगाएका छन्।
मंगलबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार जनताको समृद्धि र विकासका लागि क्रियाशील रहे पनि विरोधीहरू यसलाई रोक्ने षड्यन्त्र गरिरहेको दाबी गरे।
‘वैज्ञानिक र जिम्मेवार प्रतिपक्षको अभाव’
प्रधानमन्त्री ओलीले लोकतन्त्रमा प्रतिपक्षको भूमिका महत्त्वपूर्ण भए पनि नेपालको सन्दर्भमा त्यसको वैज्ञानिकता र यथार्थपरकता नदेखिएको बताए। उनले भने, ‘वैधानिक र संवैधानिक दायराभित्र रहेर प्रतिपक्षले सरकारलाई सच्याउने, मार्गदर्शन गर्ने काम गर्नुपर्छ। तर यहाँ त्यसको सट्टा सरकारलाई असफल बनाउने नियतले मात्रै काम भइरहेको छ।’
‘झूटको प्रचारमा संलग्न छन् विरोधीहरू’
प्रधानमन्त्री ओलीले सरकार जनताका पक्षमा क्रियाशील रहँदा पनि केही शक्ति सरकारको बदनाम गर्न उद्यत रहेको आरोप लगाए। उनले भने, ‘सरकार वा आफू बाहेक अरूलाई कसरी बदनाम गर्न सकिन्छ, सत्यलाई कसरी ढाकछोप गर्न सकिन्छ, झूटलाई कसरी फैलाउन सकिन्छ— यस्ता गतिविधिमा विरोधीहरू अत्यन्त सक्रिय छन्।’
उनले मुलुकको विकास र समृद्धि सबै राजनीतिक दलहरूको साझा जिम्मेवारी भए पनि कतिपय शक्ति अस्थिरता सिर्जना गरेर मात्रै आफ्नो अस्तित्व जोगाउन खोजिरहेको उल्लेख गरे।
प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिले समसामयिक राजनीतिक परिदृश्यमा थप बहसको विषय सिर्जना गर्ने देखिन्छ।
प्रकाशित मिति: ११ चैत्र २०८१, मंगलबार
प्रतिक्रिया