रूपन्देही । आइतबार तिलोत्तमा नगरपालिकाको नगरसभामा गएका वडाध्यक्षलाई धकेलेर पौडीपोखरीमा डिएसपीले डुबाएपछि वडाअध्यक्ष आक्रोशित भएका छन्।

जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको बीचमा विवाद बढ्दै गएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न गएको प्रहरीले जनप्रतिनिधिलाई हातपात र दुर्व्यवहार गरेको भन्दै वडाध्यक्ष हरिबहादुर क्षेत्रीले यहाँभन्दा अन्याय के हुन्छ भनेर प्रश्न गरेका छन् ।

गत शुक्रवारदेखि नै नगरसभाको विषयमा एमाले र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुका बीचमा विवाद उत्पन्न हुँदै आएको थियो। नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख रामकृष्ण खाँड र अरु जनप्रतिनिधिले नगरसभाबाट बजेट मात्रै पास गर्ने र एमालेबाट निर्वाचित उपप्रमुख र अरु जनप्रतिनिधिले बजेटसँगै न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समितिसमेत गठन गर्नुपर्ने अडान लिएपछि विवाद उत्पन्न हुँदै आएको थियो।

आइतबारको बैठकमा आफुहरुलाई उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न रोक लगाएको भन्दै आक्रोशित बनेका एमालेका जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई घेरा हालेर नियन्त्रणमा लिन खोजेपछि उद्वारको लागि प्रहरी परिचालन गरिएको थियो।

तिलोत्तमा नगरपालिका वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले नगरसभा भईरहेको होटलको स्वीमिङ पुलमा हुत्याएर फालिदिएको भिडियोसहितको समाचार ग्लोबल नागरिकमा आएको थियो।

प्रशासकीय अधिकृत ज्ञवालीलाई रोक्न पुगेका क्षेत्रीलाई प्रहरी नायब उपरीक्षक केसीले लछारपछार गर्दै स्वीमिङ पुलमा फालिदिएका थिए। वडा अध्यक्ष क्षेत्रीले नागरिकको जिउज्यानको सुरक्षामा खटिनुपर्ने प्रहरी आफै जनप्रतिनिधिमाथि जाईलाग्नु दुखदायी भएको बताए। ‘डिएपी ठगबहादुर केसीले मलाई लछारपछार गर्दै लात्तीले धकेलेर पोखरीमा फालिदिनुभयो, जनताको सुरक्षामा खटिनुपर्ने प्रहरीलाई जनप्रतिनिधीमाथि हातपात गर्न र जाईलाग्ने अधिकार कस्ले दियो?’ क्षेत्रीले भने।

प्रकाशित मिति: २ श्रावण २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com