काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको सिट संख्या र निर्वाचन क्षेत्र बुधबार टुंगिने बताएका छन्।

पार्टीको सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि मंगलबार धनगढी पुगेका प्रचण्डले कांग्रेसले ८० सिटको वरिपरि लिएर अरू दलले पनि बाँकी सिटमा भागबण्डा गर्ने बताए।

‘सय सिट दाबी गरेको कांग्रेस ८० वरिपरि मान्लाजस्तो छ र हामीले पनि ६० सिट दाबी गरेका हौं। त्यसैको वरिपरि सहमति गर्नेतर्फ उन्मुख छ। एकीकृत समाजवादीले २५ र जनता समाजवादीले २५ मागिरहेका छन्। यी सबै विषयमा बुधबार शीर्ष नेताहरू बसेर टुंग्याउँछौं,’ उनले भने।

सत्ता गठबन्धनले प्रभावकारी तालमेल गरेरै निर्वाचनमा जाने उनले बताए। आफ्नो नाम विभिन्न क्षेत्रबाट सिफारिस भए पनि चितवन क्षेत्र नम्बर ३ बाटै उठ्ने उनले बताए।

पाँच वर्षको अवधिमा कुनै पनि सरकारले स्थिरता दिन नसकेको प्रचण्डले बताए। निर्वाचनपछि बन्ने नयाँ सरकारले मुलकुलाई नयाँ गतिमा अघि बढाउने उनको भनाइ छ।

सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँटका लागि बनेको कार्यदलले भरसक मंगलबार रातिसम्म प्रतिवेदन बुझाउने भएको छ।

प्रकाशित मिति: २१ भाद्र २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com