काठमाडौं । पीडित किशोरी ‘होस्टाइल’ भएकै कारण अभिनेता पल शाहले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत, नवलपुरले २१ भदौमा पललाई सफाइ दिएको थियो । जिल्ला अदालतले बालयौन दुरुपयोगको कसूरमा दोषी देखिएको भन्दै उनलाई साढे २ वर्षको कैद ठहर भएको छ । बलात्कार आरोपकै अर्को मुद्दा तनहुँमा विचाराधीन भएकाले उनी जिल्ला कारागार तनहुँमा थुनामा छन् ।

बिहीबार तयार भएको नवलपुर जिल्ला अदालतको फैसलाको पूर्णपाठमा पीडित किशोरीले बयान फेरेकै कारण पललाई बलात्कार मुद्दामा दोषी ठहर गर्न नसकिने उल्लेख छ । पलविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा बलात्कारको आरोपमा उजुरी परेको थियो । १५ फागुनमा नवलपुरमा त्यही आरोपमा अर्को जाहेरी प¥यो । जिल्ला अदालत, नवलपुरले शाहलाई बलात्कारको आरोपमा सफाइदिएको त्यही मुद्दामा हो ।

पीडितले ‘मौकामा कागज गर्दा प्रष्ट रूपमा किटान नगरी कागज गरे पनि अदालतसमक्ष आई बकपत्र गर्दा सुरुमा गरेको कागजको व्यहोरा आफ्नो होइन, हामीबीच कुनै नराम्रो सम्बन्ध छैन’ भनेकी थिइन् ।

आज फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ, जसमा ती प्रश्नहरुको जवाफ भेटिन्छ । अदालतले पललार्ई बलात्कारको आरोपमा सफाइ दिएको छ । तर, उनले नाबालिगमाथि यौन दुर्व्यवहार गरेको ठहर्‍याउँदै अढाइ वर्षको जेल सजाय र १० लाख रुपैयाँ क्षतिपूर्ति तिनुपर्ने फैसला गरेको हो । बलात्कार नभएको निष्कर्षमा कसरी पुग्यो त अदालत ?

फैसलामा उल्लेख भएअनुसार अदालतलाई प्राप्त प्रमाणहरु बलात्कार पुष्टि गर्नका लागि पर्याप्त भएनन् । मेडिकल रिपोर्टले पीडितको कन्याजाली च्यातिएको देखाएको भए पनि यौन सम्बन्धकै कारण च्यातिएको मान्न नसकिने न्यायाधीशको तर्क छ ।

फैसलामा भनिएको छ, ‘कुनै अपवादमा बाहेक जबरजस्ती करणीका घटनामा पीडित र पीडकबाहेक अन्य व्यक्तिहरुको त्यसमा प्रत्यक्ष संलग्नता रहेको हुँदैन । त्यसैले सामान्य अवस्थामा करणीको कसूरका प्रत्यक्षदर्शी भनेका पीडक र पीडित नै हुन् । त्यसकारण जबरजस्ती करणीको कसूरको प्रत्यक्ष प्रमाण भनेको पीडित स्वयम् नै रहने र भौतिक सवुत प्रमाणको रुपमा निजको मौकाको स्वास्थ्य जाँच प्रतिवेदन नै मुख्य रुपमा रहने हुन्छ ।’

इजलासले मिसिलबाहिर गएर अनुमानको अधारमा प्रमाण नभए पनि यसो हुन सक्ला भनि अनुमानको भरमा निर्णय नगर्ने फैसलामा उल्लेख छ । फौजदारी विवादको हकमा प्रतिवादीमाथि लगाइएको आरोप वादी पक्षबाट शंकारहित तवरले पुष्टि हुनुपर्ने अदालतको तर्क छ ।

‘यस घटनामा वादी पक्षले शंकारहित तवरबाट करणीको वारदात स्थापित भएको हो भनि स्वतन्त्र र वस्तुनिष्ट प्रमाणहरु अदालतसमक्ष पेस गर्न सकेको देखिँदैन,’ फैसलाको ठहर खण्डमा भनिएको छ, ‘अनुमानको आधारमा करणी लिनु दिनु भएको भनि तथ्य मिसिलमा आधारित नभई प्रतिवादी उपर कसूर टहर गर्न मिल्ने देखिएन ।’

कन्याजाली च्यातिएको सन्दर्भमा पिडितले नै आफू सानैबाट साइकल चलाउने र अरुलाई सिकाउने पनि गरेको भनि बयान दिएको फैसलामा उल्लेख छ ।

प्रेम र यौन दुर्व्यवहार ठहर

अदालतले बलात्कारमा सजाय दिए पनि पल र नाबालिग प्रेमसम्वन्धमा रहेको तथा पलले नाबालिगलाई शारीरिक दुर्व्यवहार गरेको भने ठहर्‍याएको छ । यो ठहरमा अदालतले सबैभन्दा बलियो आधार बनाएको छ, अडियो क्लीपलाई । तीनै अडियो क्लीप जुन सामाजिक सञ्जालमा भाइरल भएका थिए । केही क्लीप पल आफैंले फेसबुकमा हालेका थिए ।

एउटा अडियो क्लीपमा पलले नाबालिगसँग शारीरिक सम्वन्ध रहेको स्वीकारोक्ति झल्किने संवाद रहे पनि त्यसलाई नै अदालतले ठोस प्रमाण मानेन । तर, त्यही संवादका आधारमा उनीहरुबीच प्रेम सम्बन्ध रहेको र पलले यौन दुर्व्यवहार गरेको निष्कर्ष अदालतले निकालेको हो । यसका साथै पल र नाबालिकबीच भएका केही च्याटका स्क्रिनसटलाई पनि आधार बनाइएको फैसलामा उल्लेख छ ।

‘अडियो क्लीपमा रहेको अश्लिल संवाद र प्रेमी-प्रेमिकाबीच हुने सम्बन्ध तथा कस्तो अवस्थामा विवाह गर्नुपर्ने हुन्छ भन्ने विषयसमेत समेटिएको संवादबाट मान्न र अनुमान र्ग सकिने अवस्था देखिएन,’ फैसलामा भनिएको छ ।

फैसलामा उल्लेख भएअनुसार पलले अडियो क्लीपमा भएको आवाज आफ्नो भएको स्वीकारेका छन् ।

‘यो वारदातपछि पनि पीडित र प्रतिवादीबीचमा निरन्तर एसएमएस आदानप्रदान र फोन सम्पर्कहरुसमेत हुँदै आएकोमा त्यसै क्रमको सिलसिलामा मध्ये बानेश्वरमा पीडित र प्रतिवादीहरुबीचको संवाद एवं छलफलको अडियो क्लीप बनाइएको समग्र अवस्थाले यी प्रतिवादी र पीडित प्रेमी प्रमिका जस्तो सम्बन्धमा रहे बसेको देखिन्छ ।’ फैसलामा भनिएको छ ।

नाबालिगले कसैको प्रलोभनमा परेर वा आरोपीको करिअर समाप्त पार्ने उद्देश्यले मात्र जाहेरी दिएको अनुमान गर्न नमिल्ने इजलासले जनाएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com