काठमाडौं । फुटवयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानिराज घिमिरेले राज्य आफैँले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताएका छन् । बिहीबार जुत्ता उत्पादक संघ नेपालले काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घिमिरेले राज्यले भएका साना तथा घरेलु उद्योगहरूलाई संरक्षण र संवर्द्धन गर्नुपर्ने अवस्थामा आफैँ नयाँ उद्योग खोल्न राम्रो नभएको बताएका हुन् ।

उनले सरकारले आफैँ नयाँ उद्योग खोले भएका निजी जुत्ताचप्पल उद्योगहरू बन्द गरेर बस्नुपर्ने बताए । घिमिरेले सरकारले भएका उद्योगलाई नीतिगत रूपमा संरक्षण गर्ने भएकाले कुनै पनि देशमा सरकार आफैँले उद्योग र व्यवसायमा लाग्ने गरेको नदेखिएको बताए । उनले वर्तमान अवस्थामा निजी नेपाली जुत्ता चप्पल उद्योगसँग वार्षिक १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता रहेको बताए ।

उनले सरकारको नीतिगत व्यवस्था र अन्य कारणले नेपाली निजी जुत्ता उद्योग अहिले ३५ प्रतिशत भन्दा बढी सञ्चालन हुन नसकेको गुनासो समेत गरे । घिमिरेले भएका उद्योग पूर्ण क्षमतामा चल्न नसकेको अवस्थामा राज्य आफैँले नयाँ उद्योग खोल्नु निजी उद्योगीहरूको लागि राम्रो नहुने बताए । उनले सरकार भएका उद्योगहरूको संरक्षण गर्नुपर्ने अवस्थामा आफैँ उद्योग व्यवसायमा लागे जुत्ता उत्पादक संघ नेपालले विरोध गर्ने चेतावनीसमेत दिए ।

पत्रकार सम्मेलनमा संघले नेपाली जुत्ता उद्योग देशको मागलाई धान्नसक्ने उत्पादन क्षमताको विकास भएको बताएको छ । संघले नेपालको दक्षिण सीमानाबाट हुने चोरी,पैठारी र कम मूल्यका कारण नेपाली जुत्ता उद्योगी व्यवसायीहरूलाई मार परेको जानकारी दिएको छ । खुला सीमानामा हुने जुत्ताचप्पल चोरी, पैठारी नियन्त्रणमा सरकार सशक्त रूपमा लाग्न माग गरेको छ । चोरीपैठारी रोकी ३० अर्ब बढी स्वदेशी लगानीमा सञ्चालित १५ सय उद्योग बचाउन संघले सरकारसँग माग गरेको छ ।

 

प्रकाशित मिति: २७ आश्विन २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com