पोखरा । ग्लाइडरको सहायताले भुइँ छोड्नु, हावासँग पौंठेजोरी खेल्दै आकाशमा तैरिनु र फेरि सकुशल जमिनमा झर्नु । प्याराग्लाइडिङको यो नियममा कहिलेकाहीँ हावाले छल गर्दिन्छ । नवौं राष्ट्रिय खेलकुद चलिरहँदा आइतबार त्यस्तै भयो । सराङकोटबाट पोखराको आकाशमा प्याराग्लाइडिङ खेलाडी निसिम थापाको ‘टेक अफ’ अन्तिम बन्यो ।

राष्ट्रिय खेलकुदमा सहभागी हुने प्याराग्लाइडिङ टिमका लागि त्रिभुवन आर्मीमा अनुबन्ध हुँदा खेलाडी निसिम थापा निकै उत्साहित थिए । आठौंमा आर्मीमै आबद्ध भएर प्याराग्लाइडिङको क्रस कन्ट्रीमा जितेको रजतले उनको मन बुझेको थिएन । टिमलाई स्वर्ण जिताउने उनको सपना यसपल्ट पनि अधुरै रह्यो । प्रतियोगितामा सहभागी हुने क्रममा आइतबार प्याराग्लाइडिङ दुर्घटनामा उनको निधन भयो ।

दुर्घटनाको प्रत्यक्ष साक्षी बने प्याराग्लाइडिङ प्रशिक्षक सुरेन गुरुङ । विश्वमै प्याराग्लाइडिङका लागि उत्कृष्टमध्येको सराङकोटमा क्रस कन्ट्री प्रतियोगिताका लागि आइतबार बिहान ब्लुस्काई प्याराग्लाइडिङको टेक अफ जोनमा खेलाडी जम्मा भए । एपीएफका प्रशिक्षक गुरुङ ‘वाइन्ड डमी’ का रूपमा हावाको चाप र चाल बुझ्न पहिला उडे । अप्रतियोगी अरू दुई पाइलटले त्यसपछि सोलो उडान भरे । तीन जनाले सबै ठीकठाक रहेको निश्चित गरेपछि प्रतियोगीमध्ये सबैभन्दा पहिला निसिमले ११ः३० मा ‘टेक अफ’ गरे । गुरुङ निसिमभन्दा २०/३० मिटर माथि विपरीत दिशामा थिए । फर्किएर निसिमतिर हेर्दा ग्लाइडर घुम्दै गरेको देखे । ग्लाइडर दुईपल्ट घुमेको मात्रै के थियो, निसिम जमिनमा बजारिए ।

सराङकोटको टावरभन्दा मुन्तिर छ ब्लुस्काई टेक अफ । जहाँबाट धेरै व्यावसायिक उडानसमेत हुन्छन् । उक्त टेक अफभन्दा माथिपट्टि अपार्टमेन्ट बनिरहेको छ । सुरेनका अनुसार टेक अफ गरेको ४/५ मिनेटमै निसिम त्यही अपार्टमेन्ट निर्माणस्थलमा खस्न पुगे । सराङकोटमै रहेको आर्मीको मेडिकल टिमले उनलाई तत्काल पोखराको मेट्रोसिटी अस्पताल ल्यायो । उनको टाउको र छातीमा चोट थियो । अस्पतालमा उनलाई चिकित्सकले मृत घोषणा गरे ।

पोखराको आकाशसँग चिरपरिचत २६ वर्षीय निसिम अनुभवी पाइलट थिए । उनले १७/१८ वर्षको उमेरमै प्याराग्लाइडिङ सुरु गरेका थिए । भारतमा प्रशिक्षण लिएका उनी विश्व हवाई खेलकुद महासंघ (एफएआई) को लाइसेन्स प्राप्त खेलाडी थिए । भारत, इन्डोनेसिया, कोरिया र चीनमा भएका विभिन्न प्रतियोगितामा उनले सहभागिता जनाइसकेका थिए । पछिल्लोपल्ट पोखरा एड्रेनलाइन प्याराग्लाइडिङमा व्यावसायिक पाइलटका रूपमा कार्यरत थिए । प्रश्न उब्जिन्छ, अनुभवी हुँदाहुँदै ज्यानै गुमाउने गरी कसरी दुर्घटना भयो ?

दुर्घटनाको प्रस्ट कारण छानबिनपछि आउला । प्रशिक्षक सुरेन गुरुङ यो दुर्घटनाको प्रमुख कारक कम उचाइमा ‘एयर टर्बुलेन्स’ अर्थात् हावाको अस्थिर चाललाई मान्छन् । उनका अनुसार निसिमले टेक अफपछि धेरै उचाइ लिन पाएकै थिएनन् । त्यति नै बेला हावाको चाल अस्थिर बन्यो । त्यसले ग्लाइडरको एकापट्टिको भाग खुम्चाइदियो । ग्लाइडर असन्तुलित भयो । ५०/६० मिटरको उचाइबाट अनियन्त्रित हुँदै उनी जमिनमा नराम्रोसँग बजारिए । प्याराग्लाइडिङको भाषामा यसलाई ‘एसिमेट्रिक कोल्याप्स’ भनिन्छ । ‘आकाशमा उड्दा कहिलेकाहीँ हावामा टर्बुलेन्स आउँछ । कहिलेकाहीँ ग्लाइडर खस्छ । फेरि सन्तुलनमा ल्याउन मिल्थ्यो,’ गुरुङ भन्छन्, ‘आफूसँग भएको एक्स्ट्रा प्यारासुट खोल्न मिल्थ्यो । तर उचाइ कम हुँदा न ग्लाइडर नियन्त्रणमा आयो न रेस्क्यु ग्लाइडर फाल्न मिल्यो ।’

खेलाडीले प्रतियोगितामा प्रयोग गर्ने ग्लाइडर विश्वस्तरको हुन्छ । यो व्यावसायिक उडान भर्ने ग्लाइडरभन्दा बेग्लै र संवेदनशील हुन्छ । हावाको थोरै उतारचढावले पनि ग्लाइडरलाई असन्तुलित बनाउँछ । यस्तोमा ग्लाइडर फनफनी घुम्छ । ग्लाइडर नियन्त्रणमा ल्याउन वा रेस्क्यु प्यारासुट फुकाल्न बढी उचाइमा हुनै पर्छ । नवौं राष्ट्रिय खेलकुदमा क्रस कन्ट्री र एक्युरेसी विधामा प्रतियोगिता हुँदै थियो । क्रस कन्ट्रीमा हावामा विभिन्न बिन्दु निर्धारण गरिन्छ । ती बिन्दुमा पुगेको/नपुगेको/कति नजिक पुगेको भन्ने थाहा पाउन खेलाडीको साथमा जीपीएस जोडिएको हुन्छ । अवतरण गरिसकेपछि उक्त जीपीएसको डाटा विश्लेषण गरेर अंक प्रदान गरिन्छ । एक टिममा चार खेलाडी हुन्छन् । हरेक दिन छुट्टाछुट्टै टास्क दिइन्छ । टिम इभेन्टमा हरेक खेलाडीको अंक जोडेर हार–जित निर्धारण हुन्छ । खेलाडीको छुट्टाछुट्टै अंक गणना गरेर व्यक्तिगत इभेन्टतर्फ हार–जित छुट्याइन्छ ।

क्रस कन्ट्रीतर्फ टिम इभेन्टमा आर्मी, एपीएफ, गण्डकी, वाग्मती र प्रदेश १ सहभागी छन् । पाँच टिमका २० र ३ व्यक्तिगत गरी २३ खेलाडी प्रतियोगितामा सहभागी थिए । शुक्रबारको तालिमका क्रममा निसिम व्यक्तिगततर्फ पहिलो नम्बरमा थिए । शनिबारको टास्कमा उनले आर्मीका लागि व्यक्तिगत ७ सय १०.८ अंक जोडे । २ हजार ४ सय ८ अंकसहित आर्मी दोस्रो स्थानमा थियो भने २ हजार ७ सय ५० अंकसहित गण्डकी पहिलो स्थानमा थियो । व्यक्तिगततर्फ उनी आठौं नम्बरमा थिए । यद्यपि, आइतबार र सोमबारको टास्क पूरा भएपछि मात्रै पदक निर्धारण हुन्थ्यो ।

क्रस कन्ट्रीमा यसपल्ट आर्मीले स्वर्ण जित्ने सम्भावना रहेको र व्यक्तिगततर्फ पनि निसिम पदक दाबेदार खेलाडी रहेको प्याराग्लाइडिङ प्रशिक्षक योगेश भट्टराई बताउँछन् । ‘सबैभन्दा मिहिनेत गर्ने खेलाडी निसिम नै थिए । यो खेलका लागि एकदमै उत्साहित थिए,’ उनले भने, ‘तालिम पनि मन लगाएर गरेका थिए । पूरै तयारी गरेर बसेका थिए । अनलक्की नै भन्नुपर्छ ।’

गोरखाको पालुङटार ठाँटीपोखरीका निसिमको परिवार पोखरा सरेको दुई दशकभन्दा बढी भयो । उनी परिवारका एक्ला सन्तान हुन् । उनका बुबा प्रकाश थापा साहसिक गतिविधिमा रुचि राख्छन् । पृथ्वीनारायण क्याम्पस, एसओएस हर्मन माइनरमा प्राध्यापन गरेका उनका बुबाले ‘लाङटाङदेखि लन्डनसम्म’ नियात्रा संग्रह प्रकाशित गरेका छन् । हाल पोखराकै अमरसिंह चोकमा मन्टेश्वरी चलाउँछन् । राजनीति संग्ल्याउन भन्दै उनी यसपल्ट गोरखाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट लौरो चिह्न लिएर चुनाव लड्दै छन् । छोराको दुर्घटना हुँदा निसिमकी आमा सावित्री मोक्तान थापा आफ्नो माइती काठमाडौंमा थिइन् । उनलाई आइतबार नै सेनाको स्काई ट्रकले पोखरा ल्याएको थियो । आमा आइपुग्दा अस्पतालको माहोल भावुक बनेको थियो । अस्पतालमा जम्मा भएका खेलाडीको आँखा रसाएका थिए । अनुहारमा भय थियो । कोही केही बोल्न सकिरहेका थिएनन् । आर्मीकै खेलाडी सुरज थापाले मुख मात्रै खोले, ‘सपनाजस्तो भएको छ । फर्केर आउँछ कि झैं लागेको छ ।’

दुर्घटनापछि प्याराग्लाइडिङ प्रतियोगिता स्थगित भएको प्रतियोगिता संयोजक एवं नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले जानकारी दिए । नागरिक उड्डयन प्राधिकरणले पनि अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध लगाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ।

 

प्रकाशित मिति: ३१ आश्विन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com