काठमाडौं । रौतहट १ का उम्मेदवार नेपालले आफूले चुनाव जिते युवालाई देशबाहिर रोजगारीको अवसर दिने आश्वासन बाँडेर आचारसंहिता उल्लंघन गरेको उल्लेख गर्दै आयोगले बिहीबार २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगले अध्यक्ष नेपालबाट स्पष्टीकरण नबुझ्दै निर्वाचन कसुर र सजाय ऐनको दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन बिहीबारै जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र पठाइसकेको छ ।

आयोगले नेपाललाई सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंबाट निर्वाचनको निष्पक्षता र स्वच्छतालाई प्रभावित गर्ने गरी फ्रि भिसा फ्रि टिकटमा युवालाई विदेश पठाउने भनी अभिव्यक्ति दिने कार्य निर्वाचन आचारसंहिताको उल्लंघन हुन गएकाले तपार्इंलाई निर्वाचन आयोग ऐनअनुसार कारबाही किन गर्नु नपर्ने हो ? यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नु हुन निर्णयअनुसार जानकारी गराइन्छ ।’

स्पष्टीकरण सोधेको पत्र लिएर आयोगका कर्मचारी एकीकृत समाजवादीको पार्टी कार्यालयमा गएका थिए । पार्टी कार्यालयले पत्र नबुझी फिर्ता पठाइदिएको छ । आयोगले प्रहरीलाई पठाएको पत्रअनुसार कारबाही अघि बढाउने हो भने नेपाललाई पक्राउ गरी अनुसन्धान गरेर मुद्दा चलाउनुपर्ने हुन्छ । मुद्दा अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारीले प्रमाणका आधारमा कसुरमा संलग्न रहेको शंका लागेको व्यक्तिलाई पक्राउ गर्न आदेश दिन सक्छ । कानुनअनुसार हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने भए अनुसन्धान अधिकारीले बाटोको म्यादबाहेक चौबीस घण्टाभित्र अदालतसमक्ष उपस्थित गराई हिरासतमा राख्नुपर्ने हुन्छ । सरकारी वकिलको कार्यालयले मुद्दा चल्ने/नचल्ने निर्णय गर्छ ।

प्रधानमन्त्री पत्नी आरजु राणाले असोज २३ मा डडेलधुराको कार्यक्रममा युवालाई ‘फ्रि भिसा फ्रि टिकट’ मा विदेश पठाउने आश्वासन दिएकी थिइन् । उनले कैलालीका बेरोजगार चार सयभन्दा बढी युवालाई निःशुल्क भिसा र टिकटमा विदेश पठाएको समेत सुनाएकी थिइन् । राणाले स्थानीय तह निर्वाचनका बेला कैलाली पुगेर युवालाई वैदेशिक रोजगारीमा पठाइदिने आश्वासन दिएकी थिइन् । आयोगले उनलाई भने स्पष्टीकरण सोधेन ।

प्रकाशित मिति: ४ कार्तिक २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com