झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लाखौंलाई रोजगारी दिनसक्ने र आर्थिक सम्वृद्धिको आधारमा विकास गर्ने लक्ष्यका साथ शुरु गरिएको रेलमार्ग र औधोगिक पार्कको जग्गाजमिनमा देखिएको समस्या निर्वाचन लगत्तै समाधानतर्फ लागिने बताएका छन् ।
झापाको दमकमा शनिबार संयुक्त रुपमा एमाले र राप्रपाले आयोजना कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले अहिले देखिएका साना समस्यालाई हल गर्दै जनताको रेल चढ्ने सपना पूरा गराउने बताए । नेपालीलाई सरल र सहज यातायातको पहुँचमा पुर्याउन आफूले रेलको सपना देखेको पनि जनाए ।
किसानको जमिन लिएर सरकारले केही नगरी बस्न नमिल्ने जनाउँदै ओलीले यो समस्या आफूले बुझेको बताए । ‘रेल–वे भन्दा बाहिरको जग्गा पनि रोक्का भएको र त्यो अहिलेसम्म फुकुवा नभएको विषयमा म जानकार छु’, ओलीले भने ।
ओलीले झापाको कमल गाँउपालिका, दमक र गौरादह नगरपालिका क्षेत्र समेटेर बन्ने दक्षिण एशियाकै सबैभन्दा ठूलो नेपाली चीन मैत्री औधोगिक पार्कको जग्गाको मुआब्जा बितरणको समस्या पनि हल गर्ने जनाए।
‘यहाँ लाखौंलाई रोजगार दिनसक्ने औधोगिक पार्क बन्ने भएकाले आएका समस्याहरुलाई समाधान गरेर अघि बढ्नुपर्छ र समस्या समाधान हुन्छ ।’ उनले भने ।
दुई वर्षअघि तत्कालिन अवस्थामा प्रधानमन्त्री रहँदा ओलीले औधोगिक पार्कको शिलान्यास गरे पनि अहिलेसम्म काम अघि बढ्न सकेको छैन । यहाँका औधोगिक क्षेत्रका समस्याहरु सामधान गरिने छ र यस विषयमा ढुक्क हुन आग्रह छ, उनले जनाए । हामी यहाँमात्र होइन देशभर विकासको लहर ल्याउँछौ, ओलीले भने ।
प्रकाशित मिति: १२ कार्तिक २०७९, शनिबार
प्रतिक्रिया