काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वतन्त्रताका लागि नेपाल शान्ति क्षेत्र हुनुपर्छ भन्ने प्रस्ताव अगाडि सारिएको बताएका छन् ।
चुनावी घोषणा पत्रमा अगाडि सारिएको प्रस्तावबारे मिडियामा पर्याप्त प्रचार नभएकोमा उनले गुनासो गरे । माओवादी केन्द्र गोरखा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सोचविचार गरी नेपाल शान्ति क्षेत्रको प्रस्ताव अगाडि सारिएको बताएका हुन् ।
‘नेपाल शान्ति क्षेत्र हुनुपर्छ भनेर प्रस्ताव ल्याएका छौं, सोचि बिचारी भनिएको कुरा हो । हिजो राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्तावलाई अन्तर्राष्ट्रिय समर्थन गरेको ऐतिहासिक पृष्ठभूमि थियो,’ प्रचण्डले भने, ‘राजाले भन्नु र माओवादीले भन्नु फरक छ । नेपाल भूराजनीतिक अवस्थामा छ, देशको स्वतन्त्रताको रक्षा, विकास र समृद्धिको अभियान अगाडि बढाउन अन्तर्राष्ट्रिय समर्थन आवश्यक रहेकोले यसको अगुवाई हामीले नै गर्ने हो ।’
प्रचण्डले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अग्रगमन र पश्चगमनको लडाईं हुन लागेको बताए । उनले चुनाव जित्नकै लागि नभइ आर्थिक क्रान्तिको सपना पूरा गर्न आफू गोरखाबाट चुनाव लड्न लागेको बताए ।
प्रकाशित मिति: १६ कार्तिक २०७९, बुधबार
प्रतिक्रिया