काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने बताएका छन् ।

एमाले नेतृत्वको अघिल्लो सरकारले सुकुम्बासी समस्या समाधानको काम अन्तिम चरणमा पुर्‍याए पनि अदालतले रोकेको भन्दै निर्वाचनपछि उच्च प्राथामिकताका साथ काम गर्ने पौडेलले बताए ।

एमाले बुटवल–६ को शाखा कमिटी भेलालाई बिहीवार बिहान सम्बोधन गर्दै पौडेलले एमाले नेतृत्वको सरकारले मात्र सुकुम्बासीलाई जग्गाधनी बनाउने दावी गरे ।

‘लालपूर्जा सर्वाधिक चासोको विषय हो,’ पौडेलले भने, ‘हाम्रो सरकारको पालामा उच्च प्राथमिकताका साथमा जग्गाधनी प्रमाणपत्र दिने गरी आयोगले केन्द्र र जिल्लामा काम गरिरहेका थिए । सुकुम्बासीका विरोधीहरूले अदालतमा गएर यो काम रोकी पाउँ भनेर मुद्दा हाले । अदालतले तत्काल केही नगर्नु नगराउनु भन्यो । त्यसपछि अदालतले विद्यमान कानूनको आधारमा लालपूर्जा बाँड्न पाइँदैन, नयाँ कानून बनाएर मात्र काम शुरू गर्न भनेर फैसला गर्दा यो रोकिएका हो ।’

पौडेलले थपे, ‘भूमिहीनको पक्षमा पहिलो कानून बनाएका छौँ । त्यही अनुसार निर्वाचनपछि जग्गाधनी प्रमाणपत्र एमालेले वितरण गर्नेछ । अरू दलले गर्न सक्दैन । निर्वाचनपछि उच्च प्राथमिकताका साथ यो काममा लाग्छौँ । लालपूर्जा वितरण गर्छौँ ।’

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले जिल्लामा भौतिकसँगै मानवीय विकास जनताको चाहना भएको भन्दै त्यही अनुसार काम अगाडि बढाउने समेत बताए ।

 

प्रकाशित मिति: १७ कार्तिक २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com