काठमाडौं मंगलबार राति खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्युटको भूकम्प गयो। सो भूकम्प पश्चिम् नेपालमा २०३७ र २०५१ पछिको सबैभन्दा ठूलो भूकम्प भएको बताइएको छ।

गोरखादेखि पश्चिम हुँदै भारतको देहरादुनसम्म विगत ५ सय वर्षदेखि ठूलो भूकम्प नगएकाले जोखिम उच्च रहेको भूकम्पविद्हरुले बताएका छन्। भूकम्पीय शक्ति सयौँ वर्षदेखि जम्मा भएर बसेकाले जुनसुकै समयमा पनि ठुलो भूकम्पको सामना गर्नुपर्ने भएकाले सतर्क रहन वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी बताउँछन् ।

उनले भने, ‘गोरखादेखि सुदूरपश्चिम हुँदै भारतको देहरादुनसम्म ५ सय वर्षदेखि ठूलो भूकम्प नगएकाले जुनसुकै समयमा पनि यसको सामना गर्नुपर्ने अवस्था आउन सक्छ। किनकी यी क्षेत्रमा भूकम्पीय शक्ति सयौँ वर्षदेखि जम्मा भएर बसेको छ।’

हिजो डोटी केन्द्रबिन्दु भएर ६ दशमलव ६ म्याग्निच्युडको शक्तिशालीसहित लगातार तीन वटा भूकम्प गएको थियो। भूकम्पबाट जनधनको समेत क्षति भएको छ। भूकम्पबाट ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव महानिरीक्षक (डीआइजी) मोहनकुमार आचार्यले बताए। पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा घर भत्किएर धनजनको क्षति भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ७ मिनेट जाँदा ५ दशमलव ७, ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि बुधबार बिहान २ बजेर १२ मिनेटमा फेरि ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि मंगलवार राति डोटी केन्द्रविन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा २०० पराकम्प गइसकेको छ।

२०३७ मा बझाङ, २०५१ मा बैतडी र बुधबार गरी ३ पटक एकै स्थानमा केन्द्रविन्दु बनाएर ३ ठूला भूकम्प गएका थिए। तीबाहेक ४ रेक्टर स्केलभन्दा मुनिका २०० पराकम्प गइसकेका छन्। भूकम्पको महसुस नहुने गरी दैनिक एक दर्जनको हाराहारीमा पराकम्पन हुँदै आएपनि डोटीमा मंगलबार राति गएको भूकम्प सुदूरपश्चिमका लागि तेस्रो ठूलो भएको भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पीय शक्ति जम्मा भएर बसेकाले सुदूरपश्चिममा जोखिम उच्च रहेकाले उच्च सावधानी अपनाउन वरिष्ठ भूकम्पविद्हरुले सुझाएका छन्। भूकम्पका कारण डोटीसहित बैतडी, बझाङ लगायतका जिल्लाका केहि घर पूर्ण र केहि घरहरुमा आंशिक क्षति भएको छ।

प्रकाशित मिति: २३ कार्तिक २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com