काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले सडकआश्रित मानवको व्यवस्थापन गर्न काठमाडौँ महानगर प्रतिबद्ध रहेको जनाएका छन्।

उनले सडकआश्रित मानवको व्यवस्थापनमा महानगरले विगतमा पनि काम गरेको र आगामी दिनमा पनि अझै प्रभावकारीरूपमा काम गर्ने प्रतिबद्धता जनाए।

मानवसेवा आश्रमसँगको सहकार्यमा महानगरले उनीहरूको व्यवस्थापन कार्य गर्दै आएको र यो क्रमलाई थप प्रभावकारिताका साथ निरन्तरता दिने विषयमा महानगर र आश्रमबीच सोमबार छलफल भएको थियो ।

सडकआश्रित मानवको व्यवस्थापनका लागि भएको योजना तथा समीक्षा बैठकमा प्रमुख साहले भने, ‘बेसहारा मानिसको उद्धार र व्यवस्थापनमा काठमाडौँ महानगरपालिका प्रतिबद्ध छ, त्यसका लागि आश्रमसँग सहकार्य भइरहेको र अझै प्रभावकारीरूपमा कार्य अघि बढाउने छौँ ।’

त्यस्तै सडकपेटी र सार्वजनिकस्थलबाट मानिसको उद्धार गरी आश्रम वा अस्पतालसम्म लैजान र आश्रममा रहेका व्यक्तिलाई अस्पतालसम्म ल्याउन र लैजानका लागि महानगरपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवा प्रयोग गर्ने र सडकआश्रित मानवहरूको अवस्थाबारे जानकारी लिन १०२ नम्बरको एम्बुलेन्स सेवाको हटलाइनलाई प्रयोग गरिने भएको छ ।

बैठकमा यसअघि भएका सहयोग तथा सम्झौता र त्यसको कार्यान्वयनका साथै सहयोगापेक्षी मानवहरूको व्यवस्थापनमा आश्रममाथि आइपरेका चुनौती र समाधानका विषयमा छलफल भएको थियो ।

पछिल्लो समयमा तीनै तहका सरकारबाट हातेमालोको प्रयास भइरहेको र केही सहयोगसमेत प्राप्त भए पनि त्यो अत्यन्त न्यून रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।

प्रकाशित मिति: २९ कार्तिक २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com