काठमाडौं । अब विदेशबाट नेपाल आउने व्यक्तिले आफूसँग एउटा मात्रै मोबाइल फोन ल्याउन पाउने भएका छन्।

व्यक्तिले प्रयोग गरिरहेको सहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मोबाइलको लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नु पर्नेछ।

‘विदेशबाट झिटीगुन्टा सुविधाअनुसार प्रति व्यक्ति एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ। सोभन्दा बढी ल्याएमा भन्सार तिराउने वा जफत गर्ने अधिकार भन्सार विभागसँग हुन्छ,’ त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डे भन्छन्, ‘यसभन्दा अघिसम्म हामीले व्यक्तिले पेश गरेको स्पष्टीकरण र पृष्ठभूमिको आधारमा दुई वटासम्म फोन ल्याउन दिएका थियौं। अब भने दोस्रो फोनको पनि भन्सार तिर्नैपर्ने हुन्छ।’

उनका अनुसार एक जना व्यक्तिले दुईभन्दा बढी फोन ल्याएको खण्डमा जफत गरिनेछ। ‘ती जफत भएका मोबाइलहरू सरकारले टेन्डर आह्वान गरेर बिक्री गर्छ।’

विभागले आगामी पुस १५ गतेदेखि मोबाइल भित्र्याउने नियमहरूमा कडाई गर्ने तयारी गरिरहेको छ। व्यक्तिले विदेशबाट मोबाइल ल्याउँदा ५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अधिवृद्धि कर गरी कुल १८ प्रतिशत कर अनिवार्य तिर्नुपर्ने भएको हो।

प्रवक्ता पाण्डेले उदाहरणसँगै भने, ‘नेपाल भित्र्याउन खोजिएका मोबाइलको विदेशी मुद्रालाई हालको नेपाली रूपैयाँमा परिणत गरी त्यसमा कुल १८ प्रतिशत कर लगाउने हो।’

भन्सार राजस्व तिरिसकेपछि उक्त मोबाइलको लागि विभागले प्रज्ञापनपत्र दिन्छ। अहिले नेपाल दूरसञ्चार प्राधिकरण मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणाली लागू गरेको छ।

गैरकानुनी बाटोबाट आएका मोबाइलको प्रयोगलाई रोक्न भन्दै प्राधिकरणले यो प्राणाली लागू गरेको हो। याे प्रणाली लागू भएपछि आधिकारिक रुपमा आयात भएका फोन बाहेक अरु फोन दर्ता गर्नुपर्ने हुन्छ।

विमानस्थलबाट भित्रने मोबाइल फोनहरूले भन्सार तिरेपछि पाउने प्रज्ञापनपत्रको आधारमा पनि उक्त फोन एमडिएमएस प्रणालीमा दर्ता हुने हो।

अवैध ढंगमा मोबाइल भित्र्याउने प्रवित्तिलाई रोक्न दूरसञ्चार प्राधिकरणले लागू गरेको एमडिएमएसलाई प्रकावकारी बनाउन भन्सार विभागले पनि विदेशबाट ल्याइने फोनको भन्सार शुल्क तिराउने विषयमा कडाई गर्न खोजेको विभागका प्रवक्ता बताउँछन्।

 

प्रकाशित मिति: १३ पुस २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com