काठमाडौं । ब्राजिलका महान फुटबलर पेले एक महिनादेखि अस्पतालमा छन् । ब्राजिलको राजधानी शहर साओ पाउलोस्थित अल्वर्ट आइनइस्टेइन अस्पतालमा उनको उपचार भइरहेको छ । पेटको क्यान्सरबाट पीडित पेले नोभेम्बमा २९ मा उक्त अस्पताल भर्ना भएका थिए ।

जतिखेर कतारमा फिफा विश्वकप फुटबलको २२औँ संस्करण चलिरहेको थियो । उनले अस्तपालको विस्ताराबाटै ब्राजिलको जितको कामना गरे । अर्जेन्टिनाले उपाधि जितेपछि मेसी र अर्जेन्टिनालाई बधाई पनि दिए ।

अस्पतालमा पेलेको उपचार भइरहेका बेला नेपालमा एक्कासी मृत्युको हल्ला चलेको छ । कुनै पनि अन्तराष्ट्रिय मिडियाले पेलेको मृत्यु भएको खबर दिएका छैनन् । मृत्युको आशंका गरिएको संकेतका खबर समेत छैनन् ।

तर पेलेको मृत्यु भएको भन्दै फेसबुकमा श्रदाञ्जली दिनेको ओइरो लागेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने जिवित महान फुटबलर पेलेलाई श्रद्धाञ्जली दिइसके । सामाजिक संजाल मार्फत श्रद्धाञ्जली दिनेमा पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेत समेत छन् ।

यस्ता भ्रामक पोस्टकै आधारमा केही अनलाइनले समाचार समेत पोस्ट गरेका छन् । केहीले त आफैँले देखे जसरी पत्नीको अंगालोमै बिदा लिए भनेर श्रदाञ्जली दिएका छन् ।

खबर भ्रामक रहेको भनेर कमेन्ट आएपछि केहीले भने पोस्ट हटाएका छन् ।

पेले बारे डेली मेलले ११ घण्टा अगाडि एक समाचार दिएको देखिन्छ । जसमा पेलेकी छोरीले आफ्ना बाबुसहितको पुरानो फोटो सेयर गरिन् भनिएको छ ।

क्रिसमस मनाउन पेलेका परिवार अस्पतालमै जम्मा भएको खबर ३ दिनअघि विभिन्न अन्तर्राष्ट्रिय मिडियामा प्रकाशन भएको देखिन्छ । पेलेको मृत्युबारे कतै कुनै संकेत समेत नभएको अवस्थामा नेपालमा हल्ला फैलिनु अनौठो देखिन्छ।

 

प्रकाशित मिति: १४ पुस २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com