काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाइड्रोजन गाडी चढ्ने तयारीमा भएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू प्रधानमन्त्री बन्दै गर्दा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाइड्रोजन गाडी चढ्न सुझाव दिएकाले आफूले तयारी गरिरहेको बताए।
‘यो सल्लाहमाथि प्रधानमन्त्री कार्यालयमा छलफल गरेका छौं। म हाइड्रोजन गाडी चढ्ने तयारीमा छु,’ उनले भने।
ग्रिन हाइड्रोजन तर्फ  जान सकियो भने मल उत्पादन, यातायात तथा अन्य उद्योगका लागि पनि क्रान्ति ल्याउन सकिने उनले बताए।

advertisement

अहिले विकसित देशहरूमा हाइड्रोजनको प्रयोग बढाउँदै लगिएकाले नेपालमा पनि आबश्यक रहेको उनले औंल्याए।
‘ग्रिन इनर्जीको प्रचुर सम्भावना रहेको देश हामी छौं। हामीले यसलाई किन अघि नबढाउने?,’ उनले भने।
जलविद्युतमा पनि नेपालीले धेरै वर्षदेखि सपना देखेको उनले बताए।

‘धेरै वर्ष पहिले ८३ हजार मेगावाटको मोटामोटी अध्ययन गरियो। त्यसबाट समग्र राष्ट्रको विकाससँगै समाजको रूपान्तरणमा पनि यसको ठूलो योगदान हुन्छ भन्ने सपना हामीले देख्यौं। तर व्यवहारमा उतार्ने सम्बन्धमा हाम्रो गति निकै पट्यार लाग्दो भएकै हो,’ उनले भने।

नेपालमा ठूलो राजनीतिक उथलपुथल र परिवर्तनपछि उक्त सपनालाई साकार पार्न महत्वकांक्षी परियोजनातर्फ आफू अघि बढेको उनी बताउँछन्।

‘म गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढ्नुपर्छ भनेर योजना बनाइएको थियो। तर देशको राजनीतिक उतारचढाबका कारण सरकारले जे सपना देखेको हो। त्यसलाई त्यहि उचाईमा लैजान सकिएन,’ प्रधानमन्त्री दाहालले भने। तर जलविद्युतबाट नेपालको रूपान्तरण गर्ने सन्देश त्यो पटक आफूले दिएको दाबी उनले गरे।

दोस्रो पटक प्रधानमन्त्री हुँदा लोडसेडिङको विकराल अवस्था हटाएको दाबी उनले गरे। ‘सहि ठाउँमा सहि अधिकारीहरूलाई नियुक्ति गरेर लोडसेडिङको समस्यालाई लाई प्राविधिक, राजनैतिक र व्यवहारिक रूपमा समाधान गर्ने नयाँ अवसर आएको थियो,’ उनले भने।

अहिले आफ्नै पालामा आन्तरिक स्रोतबाटै ठूला आयोजनाको बिजुली उत्पादन सुरू भएको  तथा नेपालमा उत्पादन भएको बिजुली भारत तथा बंगलादेशमा समेत बिक्री गर्ने वातावरण बनेको पनि उनले बताए।

 

प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com