काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानका मेयर हर्क साम्पाङ्गलाई परिवर्तनको यात्रामा माओवादीसँगै हिँड्न आग्रह गरेका छन्।
किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले साम्पाङलाई लोकतान्त्रिक मूल्य र जनताको अधिकारको पक्षमा सँगै लड्न आह्वान गरे।
उनले भने, “मैले हर्क साम्पाङ्गलाई पहिले नै लोकतन्त्रको सुन्दर फूल भनेको हुँ। उहाँ कहिलेकाहीँ अनावश्यक र नकारात्मक टिप्पणी गर्नुहुन्छ, जुन आवश्यक छैन। संविधानले दिएको अधिकार प्राप्तिको लागि हामीसँग हातेमालो गर्नुस्। भ्रष्टाचार अन्त्य, सुशासन स्थापनाका लागि सडक र सदन दुबैबाट लडौं। अब मेयरज्यू यति धेरै नकारात्मक हुन आवश्यक छैन, हामी सँगै अगाडि बढ्नुपर्छ।”
अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन कमजोर पारेर पहिचानको आन्दोलनलाई बलियो बनाउने सोच भ्रमपूर्ण भएको बताए। उनले भने, “माओवादी कमजोर भयो भने पहिचानको आन्दोलन पनि कमजोर हुन्छ। माओवादी नै यो आन्दोलनको मेरुदण्ड हो।”
उनले माओवादी पार्टीले गहिरो आत्मसमीक्षा गर्दै समाजवादको दिशामा पुनः लक्ष्य लिएर अघि बढिरहेको स्पष्ट पारे। आफू प्रधानमन्त्री भए पनि, पार्टीको अध्यक्षको रूपमा पहिचान र अधिकारका सवालमा संवाद र वार्ताको बाटो नछोडेको उनले बताए।
प्रचण्डले विगतमा ३० दलीय वा २२ दलीय मोर्चा गठन गरेर सञ्चालन गरिएको आन्दोलनमा माओवादीको नेतृत्वमा नै पहिचानको आन्दोलन सफल भएको स्मरण गरे।
उनले भने, “हिजो हामी सँगै लडेका थियौं। पहिचानको सवालमा हामी अझै पनि प्रतिबद्ध छौं। समाजवादको दिशामा अघि बढ्न फेरि एक पटक माओवादीलाई साथ दिनुहोस्।”
उनले संविधान संशोधन अपरिहार्य भएको बताए। मजदुर, किसान तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न संविधानमा सुधार गर्नुपर्ने उनको धारणा थियो।
“देशमा व्याप्त भ्रष्टाचारको मूल जरा हटाउन वर्तमान शासकीय संरचना परिवर्तन गर्नु जरुरी छ। अहिलेको चुनाव प्रणालीबाट भ्रष्टाचारको अन्त्य सम्भव छैन,” उनले भने।
उनले जनताको प्रत्यक्ष मतबाट निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था आवश्यक भएको भन्दै संविधान निर्माणको क्रममा उठाइएको आफ्नै फरक मतलाई स्मरण गरे।
प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार












प्रतिक्रिया