काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेबाट निष्कासित नेता डा. भीम रावललाई सहकार्यको प्रस्ताव गर्दै आत्मीय आग्रह गरेका छन्।
शनिबार अछामको साँफेबगरमा आयोजित एक सभालाई सम्बोधन गर्दै प्रचण्डले देशभक्त र इमानदार कम्युनिस्टहरूसँग सहकार्यको आवश्यकता औंल्याउँदै, भीम रावलजस्ता नेताहरूसँग मिलेर अगाडि बढ्न चाहेको बताएका हुन्।
“डाक्टर भीम रावलज्यूसँग हिजो मात्र फोनमा कुराकानी भयो,” उनले भने, “उहाँले हाम्रो अभियानलाई शुभकामना दिनुभयो। मैले उहाँलाई भनेँ– तपाईं त हामीसँगै बसेर संवाद गर्नुपर्ने व्यक्तिहरूमा पर्नुहुन्छ, किन अन्यत्र भौतारिइरहनु भएको छ?”
सभामै बोल्दै प्रचण्डले थपे, “म यो मञ्चबाट डा. रावलसहित सबै इमानदार कम्युनिस्टहरूलाई सहकार्यको आह्वान गर्न चाहन्छु। अन्त भौतारिएर केही उपलब्धि हुँदैन।”
एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको दीर्घकालीन विवादपछि डा. रावल पार्टीबाट निष्कासित भएका थिए। हाल उनले ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गरिरहेको बताइए पनि त्यो अभियान हाल निष्क्रियजस्तै देखिएको छ।
यद्यपि, डा. रावलले प्रचण्डको सहकार्य प्रस्तावमा हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।
प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार












प्रतिक्रिया