काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पछि माओवादी पार्टीको भविष्यबारे भइरहेका बहसहरू अनावश्यक रहेको बताएका छन्।

भक्तपुरमा सोमबार आयोजित वाइसीएल (योङ कम्युनिस्ट लिग) बागमती प्रदेशको अधिवेशन उद्घाटन गर्दै उनले पार्टीको नेतृत्व परिवर्तन स्वाभाविक प्रक्रियाबाट हुने स्पष्ट पारे। पुनका अनुसार, माओवादी पार्टीमा नेतृत्व व्यक्तिमा होइन, समूहमै आधारित हुन्छ र उपयुक्त समयमा विधिसम्मत ढंगले नयाँ नेतृत्व चयन हुन्छ।

advertisement

“कतिपयले प्रश्न गर्छन् — अध्यक्ष प्रचण्डपछि माओवादीको नेता को हो? पार्टी रहन्छ त? हामी भन्छौँ, अवश्य रहन्छ। नेतृत्वको आधार विधि र संरचना हो, व्यक्ति होइन। हामीले अध्यक्षकै प्रस्तावमा महाधिवेशनबाट नेतृत्वको श्रृंखलाबद्ध तयारी गर्ने विधि तय गरेका छौँ,” पुनले भने।

उनले जनयुद्धको तयारीदेखि सञ्चालन, शान्ति प्रक्रिया र समाजवादको आधार निर्माणसम्म प्रचण्डले नेतृत्व गरेको उल्लेख गर्दै अहिले जनतामा प्रचण्डप्रति थप आकर्षण बढिरहेको दाबी गरे।

“कमरेड प्रचण्ड र उहाँको पुस्ताका नेताहरू आकस्मिकता र ऐतिहासिक आवश्यकता अनुसार जन्मिएका हुन्। उहाँको नेतृत्व समय, संघर्ष र जनताको आवश्यकता अनुसार स्थापित भएको हो,” पुनले भने।

उनका अनुसार अहिलेको अवस्थामा पार्टीभित्र कसैलाई पनि प्रचण्डको नेतृत्वमा असहमति छैन। “हामी सबै प्रचण्डको नेतृत्वलाई अझ बलियो र सम्मानित बनाएर अघि बढाउनु पर्ने पक्षमा छौँ,” उनले स्पष्ट गरे।

फरक प्रसङ्गमा, उनले वर्तमान नेपाली कांग्रेस–एमाले गठबन्धन सरकारले दलाल र स्वार्थ समूहहरूको दबाबमा बनेको भन्दै आलोचना गरे।

“हामीले संसदमै अहिलेको सरकार बिचौलियाहरूले बनाएको हो भनेर आवाज उठाएका थियौँ। सुरुमा हाम्रो कुरा गम्भीरतापूर्वक लिइएन। तर आज जनताको बुझाइ पनि त्यही हुन थालेको छ,” पुनले दाबी गरे।

उनका अनुसार गाउँ–सहर, जनसाधारणदेखि गृहिणीसम्मले यो सरकार बिचौलियाको हो भनेर खुलेर भन्न थालेका छन्। “कतिपय अवस्थामा त हामीले भन्दा बढी जनताले बोलेका छन्,” उनले भने।

प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com