काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले २०६४ सालको निर्वाचनमा माओवादीले जनमतको आधारमा नभई लुटपाट र आतंक सृजना गरेर पहिलो स्थान हासिल गरेको आरोप लगाएका छन्।

गोदावरीमा आयोजित बागमती प्रदेशका एमाले वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीले त्यतिबेला जनताको समर्थन नभई डर र त्रासको माध्यमबाट सत्ता कब्जा गरेको दाबी गरे। ओलीले भने, “२०६४ मा देश माओवादीमय थिएन, त्यो त आतंकमय अवस्था थियो। माओवादीले लडाकु क्याम्पमा राखेर, मार्चपास गराएर, नागरिकलाई तर्साएर, कुटपिट र हत्या गराएर आतंक फैलाएको हो।”

advertisement

ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कटाक्ष गर्दै भने, “भ्रष्टहरूले नै आजभोलि भ्रष्टाचारविरुद्धको ठूलो स्वर गरेका छन्। प्रचण्डको शैली हेर्नुहोस्, भ्रष्टाचारविरुद्ध बुरुकबुरुक उफ्रिन्छन्। तर वास्तवमा २०६४ को चुनाव उनीहरूले लोकप्रिय भएर होइन, आतंकको बलमा जितेका थिए।”

एमाले अध्यक्ष ओलीले माओवादीले हालै थालेको महाकाली–मेची अभियान एमालेको सिको मात्र भएको टिप्पणी गर्दै भने, “हामीले सुरु गरेको अभियानमा जनसागर उर्लन्थ्यो, जनताले उत्साहपूर्वक स्वागत गर्थे। उनीहरूको कार्यक्रममा भने केही कार्यकर्ता मात्रै देखिन्छन्। अनि पनि प्रचण्डलाई लाग्छ देश फेरि माओवादीमय हुन्छ। तर त्यो सम्भव छैन।”

ओलीले २०६४ साल जस्तो अवस्था अब कहिल्यै नफर्किने दाबी गर्दै भने, “६४ को समय जस्तो अब न आउँछ, न माओवादीले त्यो उचाइ फेरि पाउँछ। माओवादीले गरिरहेको प्रचार केवल भ्रम छ।”

उनले प्रचण्ड र माओवादी केन्द्रमाथि थप आरोप लगाउँदै भने, “जुन व्यक्तिले अफवाह फैलाउँछ, एमालेलाई धुलो चटाउँछु भन्छ, त्यस्तासँग के वाम एकता? जसले दुई तिहाइको कम्युनिस्ट सरकारलाई ढालेर कांग्रेसको शरण लिन्छ, त्यससँग कुनै वाम एकता हुन सक्दैन।”

ओलीले स्पष्ट रूपमा भने, आफूबारे गलत प्रचार गर्ने, पार्टीको अस्तित्वमाथि प्रहार गर्नेहरूसँग वाम एकता सम्भव छैन।

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com