काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना आन्दोलनहरूलाई निष्कर्षमा पुर्‍याउन पूर्ण प्रतिबद्धता जनाउँदै हिंसा र भ्रामक प्रचारविरुद्ध कडा प्रतिवाद गर्ने घोषणा गरेको छ।

धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा मंगलबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले हाल चलिरहेको आन्दोलनलाई कमजोर पार्ने प्रयत्नहरूप्रति कडा आपत्ति जनाएको हो। बैठकले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत पार्टी र नेतृत्वलाई बदनाम गर्न गरिएका आधारहीन र कपोलकल्पित प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

advertisement

पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार यस्ता गलत प्रचारबाट जनतामा भ्रम सिर्जना हुन नदिन र सचेत रहन सम्पूर्ण पार्टी कार्यकर्तालाई अपिल गरिएको छ। साथै, भ्रम फैलाउने र पार्टीविरुद्ध योजनाबद्ध रुपमा कार्यमा लाग्ने कुनै पनि नेता वा कार्यकर्तामाथि कठोर अनुशासनात्मक कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ।

यसै सन्दर्भमा, जेठ १९ गते कमलादीस्थित मन्दिरमा स्वर्गीय राजा वीरेन्द्र र राजपरिवारको सम्झनामा आयोजित श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा माओवादी केन्द्रनिकट वाइसिएलबाट गरिएको अवरोध प्रयासप्रति राप्रपाले तीव्र विरोध जनाएको छ।

राप्रपाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन उक्साएको दाबी गर्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीले यस्ता गतिविधिहरू फेरि दोहोरिए प्रतिकारमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएको छ।

राप्रपाले आन्दोलनलाई अझ सशक्त र व्यवस्थित बनाउँदै देश र जनताको हितमा अडिग भएर अगाडि बढ्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com