काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले देशको नेतृत्वका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै एकमात्र उपयुक्त विकल्प भएको दाबी गरेका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै सापकोटाले पार्टीभित्रै अध्यक्ष प्रचण्डको नेतृत्व अपरिहार्य रहेको धेरै पहिलेदेखि आफूहरूले बुझेको र अहिले आएर आम जनताले पनि त्यो कुरा आत्मसात् गर्न थालेको बताएका हुन्।
उनले हालै सम्पन्न माओवादीको देशव्यापी जनसम्पर्क अभियानमा अन्य पार्टीका निर्वाचित जनप्रतिनिधिहरूले समेत स्वागत गर्ने, ज्ञापन पत्र बुझाउने कार्यले माओवादीप्रति जनताको विश्वास बढ्दो क्रममा रहेको संकेत दिएको बताए।
सापकोटाले नेपाली कांग्रेसलाई “प्रजातान्त्रिक सामन्तहरूको पार्टी” भनी आरोप लगाउँदै, कांग्रेस जनताको भावना र आकांक्षाबाट टाढा गएको टिप्पणी गरे। एमालेप्रति पनि कटाक्ष गर्दै उनले भने, “एमालेका गतिविधि यति लाजमर्दो छन् कि अब त आफ्नै कार्यकर्ताहरू पनि शीर निहुराउन बाध्य छन्।”
उनले अहिले कांग्रेस र एमालेबाट जनता निराश भइसकेका कारण माओवादीका लागि जनसमर्थन प्राप्त गर्ने अवसर खुलेको जिकिर गरे।
प्रकाशित मिति: २ असार २०८२, सोमबार













प्रतिक्रिया