काठमाडाैं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोमबार संसदीय समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन्। सभामुखको सचिवालयका अनुसार छलफल आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा तय गरिएको छ।
सभामुखले संसदीय समितिमा दफावार छलफलमा रहेका विधेयकहरूको प्रगतिबारे जानकारी लिन र विधायन प्रक्रिया अघि बढाउने विषयमा छलफल गर्न सभापतिहरूलाई बोलाएका हुन्।
हाल संसदीय समितिहरूमा ११ वटा विधेयक दफावार छलफलको प्रक्रियामा छन्। ती विधेयकहरूमा विद्यालय शिक्षा विधेयक २०८०, विद्युत् विधेयक २०८०, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८०, बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक २०८०, निकासी–पैठारी नियमन विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१, नेपाल प्रहरी विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक, र धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक रहेका छन्।
विधेयकहरू समितिमा अलमलिएको र कार्यान्वयनमा ढिलाइ भइरहेको भन्दै सभामुख घिमिरेले संसदीय प्रक्रिया सक्रिय बनाउन छलफल आयोजना गरेका हुन्।
प्रकाशित मिति: १६ असार २०८२, सोमबार













प्रतिक्रिया