नाटक अनुभव

हजुरबाको एकमात्र सहारा ‘लौरो’: छुट्टदै गएको नेपाल र परिवारको पीडा

'के माया गर्ने मान्छेलाई पनि आफुभन्दा टाढा पठाउँछन् र !!'



काठमाडौं । ‘नाईं हजुरबा, म जाँन्न!! म जान्न आमा र बुबासँग !! के तपाईं मलाई माया गर्नुहुन्न !! किन पठाउँदै हुनुहुन्छ मलाई तपाईं भन्दा टाढा !! के माया गर्ने मान्छेलाई पनि आफुभन्दा टाढा पठाउँछन् र !!’

घरमा वृद्ध हजुरबा, हजुरआमा र ८/९ वर्षकी एउटी नातिनी मात्रै बस्छन् । ४ वर्षको उमेरमा छोरीलाई आफ्ना वृद्ध हुँदै गरेका आमाबाबुको भरमा छोडेर विदेश हिडेका छोराबुहारीको प्रतिक्षामा दिनहुँ कुरिरहन्छन् दुई वृद्ध दम्पती। फर्किने कहिले हो कुनै अत्तोपत्तो छैन । नातिनीलाई पनि आफूलाई सानैमा छोडेर हिडेका आफ्ना आमाबुबाको अनुहार समेत याद छैन ।

गाउँमा युवा, तन्नेरी कोही छैनन् । वृद्धहरू एकअर्काको एक्लोपनले दिएको पीडाको बयान गरिरहन्छन्। बुढेसकालमा सहारा विहिन भईरहेका छन्। आफु मरेपछि पिण्ड दिने सन्तान पनि साथमा हुनेछैनन् भन्ने चिन्ताले पनि पिरोलिरहन्छ उनीहरूलाई ।

यो गाउँमा मात्र वृद्धवृद्धाहरूको भीड छ । मात्र वृद्धवृद्धाहरू । लौरोको सहारामा उभिएका वृद्धवृद्धाहरु ।

बेलाबेला विदेशबाट लास भित्ररहेका छन् । घाटसम्म लास बोक्ने युवा समेत एकजना छैन। यिनै वृद्धहरू सकिनसकि, काँप्दै, लौरो टेक्दै लासलाई घाटसम्म पुर्याउँछन् ।

गाउँको स्कुलमा पढिरहेकि नातिनी बुबाआमा आएर विदेशमा लिन थाले भने पनि म उनीहरूसँग विदेश जाँन्न, म तपाईंहरूसँगै बस्छु भनेर हजुरबा हजुरआमालाई सुनाइरहन्छे । हजुरबा पनि नातिनीलाई आफुभन्दा टाढा लान नदिने अडान लिन्छन् ।

तर एकदिन अचानक विदेशबाट फर्किएका आफ्ना आमाबुबालाई छोरीले चिन्दिनँ । तर परिस्थिति के आइलाग्छ भने उनीहरू छोरीलाई तुरून्तै आफुसँग लिन चाहन्छन् ।

यहीँनेर हजुरबुबा, नातिनी, हजुरआमा र छोराबुहारीले गम्भीर निर्णय गर्नुपर्ने हुन्छ । हजुरबाले नातिनीलाई जान देलान् कि नदेलान् ? अनि नातिनीले कस्लाई रोज्छे होला ? बुबाआमाले आफ्नी छोरीलाई नलिएरै तत्काल विदेश फर्किएलान् त ? के छोरीलाई गाउँमा गोठालो बन्नलाई छोडेर फेरि विदेश जालान् ? अनि नातिनी हजुरबा र हजुरआमाको बुढेसकालको सहारा बन्लिन् ? कि अशक्त हुँदै गरेका हजुरबालाई लौरो उपहार दिएर बिदा होलिन् ? अनि हजुरआमाले के गर्लिन् नि ?

 

यो गम्भीर रहस्य थाहा पाउँन तपाईं पुग्नुपर्ने हुन्छ राजधानीको नयाँबानेश्वरस्थित थापागाउँमा रहेको एक थिएटर नेपाल (कुञ्ज थिएटर) मा ।

ललितपुर–१५, सातदोबाटोस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालय तथा कलेजका विद्यार्थी कलाकारले थापागाउँस्थित कुञ्ज थिएटरमा प्रस्तुत गरिरहेको नाटक ‘लौरो’ हेर्दा यस्तै अनुभूति हुन्छ।

यो नाटकले केवल स्कुलका विद्यार्थीले प्रस्तुत गरेको एउटा सामान्य नाट्य प्रस्तुति मात्र नभएर नेपाली समाजको अहिलेको संवेदनशील अवस्थालाई रङ्गमञ्चमा उतार्ने प्रयास गरिरहेको छ।

नाटक हेर्दै गर्दा कतिपय दृश्यले दर्शकलाई हँसाउँछन्, तर त्यसपछि आउने अर्को दृश्यले मन भारी बनाउँछ। कतैकतै आँखामा आँसु आउँछ भने कतै आफ्नै घर सम्झिएर नोस्टाल्जिक बनाइदिन्छ । आफ्नै आमाबुबा, हजुरबा, हजुरआमाको सम्झनामा पुर्याइदिन्छ।  ‘लौरो’को कथा कुनै अपरिचित परिवारको कथा जस्तो लाग्दैन। यो त हामी प्रत्येकको  घरघरको कथा हो, टोलटोलको कथा हो, गाउँगाउँ र बस्तीबस्तीको कथा हो।

सन्तान विदेशिँदा खाली हुने घर

नेपालको पछिल्लो सामाजिक यथार्थसँग ‘लौरो’को कथावस्तु निकै नजिक छ।

रोजगारी, अवसर र भविष्यको खोजीमा युवाहरू विदेशिन बाध्य भइरहेका छन्। शहरतिर बसाइँ सर्ने क्रम उस्तै छ। गाउँमा घर छन्, आँगन छन्, खेतबारी छन्, तर ती घरमा युवा पुस्ताको उपस्थिति क्रमशः पातलिँदै गएको छ।

सन्तानको भविष्यका लागि बुवा–आमाले आफ्नै इच्छा दबाउँछन्। छोराछोरीलाई पढाउँछन्, हुर्काउँछन् र उनीहरूले राम्रो जीवन बिताऊन् भन्ने सपना देख्छन्। तर त्यही सपना पूरा गर्ने क्रममा एक दिन घरको छोरा वा छोरी विदेश पुग्छ।

त्यसपछि बाँकी रहन्छ—खाली आँगन, सुनसान घर।

सन्तानको यादले हरदिन, हररात घेरिरहन्छ।  तर  बुढेसकालमा चाहिएको साथ भने छेउमा हुँदैन।

‘लौरो’ले यही विडम्बनालाई निकै संवेदनशील ढंगले समातेको छ।

बुवा–आमाका लागि सन्तानसँगको दूरी कति पीडादायी हुन्छ?

सन्तानका लागि विदेश एउटा अवसर हुन सक्छ। परिवारका लागि आर्थिक सहारा पनि बन्न सक्छ। तर बुढेसकालमा पुगेका बुबा–आमाका लागि त्यही विदेश कहिलेकाहीँ असाध्यै लामो दूरी बन्न पुग्छ।

उनीहरूलाई पैसाभन्दा बढी छोराछोरीको साथ चाहिएको हुन्छ। नातिनातिनासँग खेल्न मन लागेको हुन्छ। बिरामी पर्दा छेउमा छोरा वा छोरी होस् भन्ने चाहना हुन्छ। तर परिस्थिति उल्टो छ।

देशभित्रै भए पनि दूरी यति बढेको छ कि आफ्नै सन्तान परदेशमा रहेको अनुभूति हुन्छ।

‘लौरो’ले यही भावनालाई दर्शकको मनसम्म पुर्‍याउँछ। त्यसैले नाटकको नाम पनि अर्थपूर्ण लाग्छ—लौरो, अर्थात् बुढेसकालमा टेक्ने सहारा।

तर प्रश्न उठ्छ—जसलाई जीवनभर आफूले सहारा दियौँ, बुढेसकालमा त्यही सन्तान नै टाढा हुँदा कसको सहारा लिने?

विद्यार्थी कलाकारको अभिनयमा देखिएको गहिरो मेहनत

नाटकको सबैभन्दा प्रशंसनीय पक्षमध्ये एक हो—स्कुलका विद्यार्थी कलाकारको अभिनय।

संरक्षण मिश्र, रिमुन दाहाल, सुशना सञ्जेल, अग्रता अधिकारी, आरोग्य श्रेष्ठलगायत अभिमान श्रेष्ठ, अभिमन्यु भट्ट, रिसोना तास्नीम, उत्प्रेरणा पण्डित, रसिल बस्नेत, श्रेया सुनुवार, अंशु बस्नेत, सुशान्त घिमिरे, दृिशना बोहोराले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक आत्मसात् गरेका छन्।

विशेषगरी बाल कलाकारहरूले प्रस्तुत गरेको भाव, संवाद र पात्रअनुसारको अभिनयले दर्शकलाई कथाभित्र तान्छ। उनीहरूको अभिनयमा उनीहरुले मेहनत स्पष्ट महसुस हुन्छ।

उनीहरू व्यावसायिक रङ्गकर्मी होइनन्। तर मञ्चमा उभिएर दर्शकको भावना छुने गरी कथा भन्न सक्नु आफैँमा प्रशंसनीय उपलब्धि हो।

कतिपय दृश्यमा कलाकारको संवादभन्दा अनुहारको भावले धेरै कुरा बोल्छ। यही कारण ‘लौरो’का धेरैजसो क्षणले दर्शकलाई भावुक बनाउँछन्।

 

पुष्पराज अवस्थीको लेखन र निर्देशन

नाटकका लेखक तथा निर्देशक पुष्पराज अवस्थी लामो समयदेखि बालबालिकासँग रङ्गमञ्चमा काम गर्दै आएका छन्।

विद्यालयभित्र नाटक सिकाएर मात्र सीमित नराखी विद्यार्थीलाई वास्तविक रङ्गमञ्चमा पुर्‍याउने उनको सोच ‘लौरो’मा पनि देखिन्छ।

अवस्थीले आफ्नै जीवनको अनुभूति र सामाजिक यथार्थबाट नाटकको कथा जन्मिएको बताएका छन्। सामाजिक सञ्जालमा विदेश जान लागेकी आमालाई विमानस्थलमा अंगालो हालेर रोइरहेको एउटा बालकको दृश्यले आफूलाई लामो समयसम्म छोएको र त्यससँगै आफ्नै बुवा–आमालाई गाउँमा छाडेर शहर आएको स्मरणले ‘लौरो’को परिकल्पना जन्मिएको उनको भनाइ छ।

त्यसैले नाटकमा भावनाको कृत्रिमता कम र भोगाइको नजिकपन बढी महसुस हुन्छ।

लेखनमा परिवारको सम्बन्ध छ, तर त्यसको पछाडि देशको अवस्था छ। निर्देशनमा भावुकता छ, तर त्यसको पछाडि एउटा ठूलो सामाजिक प्रश्न पनि छ।

विद्यालयले दिएको असाधारण अवसर

ब्राइट फ्युचर माध्यमिक विद्यालय तथा कलेजको भूमिका पनि यहाँ उल्लेखनीय छ।

विद्यालयले विद्यार्थीलाई पढाइ र परीक्षामा मात्र सीमित नराखी कला, सिर्जनशीलता र अभिव्यक्तिको क्षेत्रमा समेत आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर दिएको छ।

विद्यालयकै विद्यार्थीलाई लिएर व्यावसायिक रङ्गमञ्चमा नाटक मञ्चन गराउनु आफैँमा ठूलो अभ्यास हो।

मञ्चमा उभिनु, संवाद बोल्नु, चरित्र बुझ्नु, प्रकाश र ध्वनिसँग काम गर्नु, समूहमा काम गर्नु र दर्शकसामु आफ्नो प्रस्तुति दिनु—यी सबैले विद्यार्थीको आत्मविश्वास र नेतृत्व क्षमतामा योगदान पुर्‍याउँछन्।

विद्यालयले विद्यार्थीलाई दिएको यही अवसर ‘लौरो’को अर्को महत्वपूर्ण पक्ष हो।

‘लौरो’ एउटा नाटक मात्र होइन

आजको नेपाललाई बुझ्न ‘लौरो’ले एउटा ऐना देखाएको छ।

यो ऐनामा गाउँ छ, शहर छ।
बुवा छन्, आमा छन्।
छोरा–छोरी छन्।
विदेश जाने विमानस्थल छ।
रित्तिँदै गएको गाउँ छ।
सुनसान बन्दै गएको घर छ।
र छ—सन्तानसँग छुट्टिनुपर्दाको पीडा।

नाटक हेर्दा लाग्छ, नेपाल केवल राजनीतिक र आर्थिक संकटबाट मात्रै गुज्रिरहेको छैन। परिवारको संरचना र सम्बन्ध पनि ठूलो परिवर्तनको चरणमा छ।

हामी समृद्धिको सपना देखिरहेका छौँ, तर त्यो सपनाको मूल्य कतै आफ्नै परिवारबाट टाढिनुबाट त चुकाइरहेका छैनौं?

हामी विदेशमा भविष्य खोजिरहेका छौँ, तर त्यस क्रममा आफ्नै बुवा–आमाको वर्तमान कति एक्लो बनिरहेको छ? कहिल्यै सोचेका छौं ?

‘लौरो’ले यिनै प्रश्नलाई दर्शकसामु चुपचाप राखिदिन्छ।

दर्शकलाई रुवाउनेभन्दा सोच्न बाध्य बनाउने नाटक

मैले पनि आज बिहान ‘लौरो’ हेर्ने अवसर पाएँ। विद्यार्थी भाइबहिनीहरूको मेहनत, अभिनय र प्रस्तुति प्रशंसनीय लाग्यो। सीमित अनुभवका बाबजुद उनीहरूले मञ्चमा देखाएको आत्मविश्वास र भावनात्मक प्रस्तुति उल्लेखनीय छ।

पुष्पराज अवस्थीको लेखन र निर्देशनले कथालाई केवल ‘विद्यार्थी प्रस्तुति’ मात्र बन्न दिएको छैन। विषयको गम्भीरता, पात्रको भाव र वर्तमान नेपाली समाजको यथार्थलाई जोडेर नाटकलाई दर्शकको व्यक्तिगत अनुभूतिसँग जोड्ने प्रयास गरेको छ।

कतिपय दृश्यले दर्शकलाई रुवाउँछन्। तर ‘लौरो’को वास्तविक शक्ति आँसु झार्नुमा मात्र छैन—आँसु पुछिसकेपछि आफूलाई र आफ्नै परिवारलाई सम्झन बाध्य बनाउनुमा छ।

सायद यही कारण ‘लौरो’ हेरेपछि नाटकको मञ्चन सकिन्छ, तर कथा सकिँदैन।

दर्शक थिएटरबाट बाहिर निस्किएपछि पनि मनमा एउटै प्रश्न घुमिरहन्छ—हाम्रो बुढेसकालमा हामीले टेक्ने ‘लौरो’ को हुनेछ? अनि आज हामीले छाडेर गइरहेका बुवा–आमाका लागि हामी आफैँ ‘लौरो’ बन्नेछौँ  कि छैनौँ?

‘लौरो’ यही प्रश्न बोकेको नाटक हो।

यो एउटा परिवारको कथा होइन। यो घरघरको कथा हो।
यो एउटा गाउँको कथा होइन। यो रित्तिँदै गएको नेपालको कथा हो।
र यो केवल बुवा–आमाको पीडा होइन—विदेशिन बाध्य भएको सन्तानको विवशताको पनि कथा हो।

त्यसैले नेपाली रङ्गमञ्च, विद्यार्थी कलाकारको सिर्जनशीलता र आफ्नै समाजको कथा हेर्न चाहने जोकोहीका लागि ‘लौरो’ हेर्नुपर्ने नाटक बनेको छ।

नाटक यही भदौ २३ गतेदेखि २७ गतेसम्म हरेक दिन बिहान ७:३० बजे , ११ बजे र १ बजेको समयमा नयाँबानेश्वरस्थित थापागाउँमा रहेको एक थिएटर नेपाल (कुञ्ज थिएटर) मञ्चन भइरहेको छ ।

नाटकमा मञ्च व्यवस्थापन प्रसिज घिमिरे, प्रप्स व्यवस्थापन रेश्मी राई, प्रकाश परिकल्पना तथा परिचालन प्रकाश दाहाल र सहायक निर्देशन रुबिन सुनारले गरेका छन्।

प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com