काठमाडौं । नारायणी नदी जलाधारअन्तर्गतको त्रिशूली उपजलाधारमा पर्ने भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट आएको ठूलो बाढी मङ्गलबार बिहान प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले नदी किनारका बासिन्दा, यात्रु र सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
रसुवा-स्याफ्रुवेसीस्थित भोटेकोशी जलमापन केन्द्रमा बिहान ३ः३० बजे बाढीको प्रवाह मापन गरिएको थियो। त्यसपछि बाढी त्रिशूली नदी हुँदै बिहान ५ बजे नुवाकोटको वेत्रावतीसम्म पुगेको विभागले जनाएको छ।
वेत्रावतीमा जलस्तर करिब २.५ मिटरले वृद्धि भएको र हाल केही घट्दो क्रममा रहेको विभागको भनाइ छ। प्रारम्भिक विश्लेषणअनुसार बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (बेनीघाट) आसपाससम्म पर्न सक्ने भएकाले विशेष सतर्कता आवश्यक रहेको विभागले स्पष्ट पारेको छ।
बाढी पूर्वानुमान शाखाले बाढीको निरन्तर अनुगमन गरिरहेको र सम्भावित कारणको प्रारम्भिक अध्ययन पनि सुरु गरिएको जानकारी दिइएको छ।
विभागले थप सूचना र जानकारी आफ्ना आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत उपलब्ध गराइने जानकारी गराउँदै सबैलाई सतर्क रहन आह्वान गरेको छ।
प्रकाशित मिति: २४ असार २०८२, मंगलबार












प्रतिक्रिया