काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरी पार्टीबाट पदमुक्त भएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार गिरीलाई उपाध्यक्ष तथा केन्द्रीय सदस्य पदबाट हटाएका हुन्।

पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनको निर्णयअनुसार गिरीले वहन गर्दै आएको दुवै जिम्मेवारी आजैदेखि खारेज गरिएको हो।

advertisement

यसअघि असार २५ गते अध्यक्ष लिङ्देनले अनुशासन समिति अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुनसुन्दर लावतीलाई पनि पदबाट हटाएका थिए। ती निर्णयप्रति असन्तुष्टि जनाउँदै उपाध्यक्ष गिरीसहित उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीहरू धवलशम्शेर राणा र कुन्ती शाहीले बिहीबार संयुक्त विज्ञप्ति सार्वजनिक गरेका थिए।

उक्त विज्ञप्तिमा लिङ्देनले एकलौटी शैलीमा निर्णय लिएको आरोप लगाइएको थियो। त्यसको जवाफस्वरूप अध्यक्ष लिङ्देनले आफूविरुद्ध गुटबन्दी गर्ने मनोनित पदाधिकारीहरूमाथि कडा निर्णय लिएका छन्।

राप्रपामा हाल ८ जना उपाध्यक्ष छन्, जसमा ४ जना महाधिवेशनबाट निर्वाचित भएका हुन् भने बाँकी ४ जना अध्यक्ष लिङ्देनद्वारा मनोनीत।
मुकुन्दश्याम गिरीलाई अध्यक्ष लिङ्देनले २०७८ माघ १६ गते उपाध्यक्ष पदमा मनोनयन गरेका थिए। उनी सुर्खेतबाट प्रतिनिधित्व गर्दै आएका थिए।

पार्टीको भित्रि शक्ति संघर्ष र गुटगत असमझदारीले राप्रपाभित्रको आन्तरिक राजनीति फेरि एकपटक सतहमा आएको देखिएको छ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com