झापा । झापाको दमकमा निर्माण सम्पन्न गरिएको विजनेस कम्प्लेक्स सर्वसाधारणका लागि खुला गरिएसँगै दैनिक ४ सयभन्दा बढी दर्शक अवलोकनका लागि पुग्ने गरेका छन्।
सघन शहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख रमेश थिङका अनुसार साउन १ गते ४१८ जना, साउन २ गते ३८१ जना र साउन ३ गते ४८१ जना अवलोकनका लागि पुगेका थिए।
शहरी विकास मन्त्रालयले साउन १ गतेदेखि परीक्षणकालका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कम्प्लेक्स खुला गरेको हो। प्रवेश शुल्क प्रतिव्यक्ति १ सय रुपैयाँ निर्धारण गरिएको छ।
कुल १०० मिटर अग्लो यो संरचना १८ तलाको छ। त्यसमा ७२ मिटर कंक्रीट संरचना र बाँकी २८ मिटर मेटल फ्रेम टावर रहेको छ। यो कम्प्लेक्स काठमाडौँको धरहराभन्दा अग्लो रहेको आयोजना कार्यालयले जनाएको छ।
सर्वसाधारणका लागि खुला गरिएपछि दमकको नयाँ पर्यटकीय गन्तव्यका रूपमा यो कम्प्लेक्स स्थापित हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया