काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीतिक यात्रा नेपाली कांग्रेसका नेता बीपी कोइरालाको विचार र दर्शनको जगमा उभिएको बताएका छन्।
बीपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले बीपी कोइरालाको सङ्घर्ष, मूल्य र मान्यताले देश र कांग्रेसलाई आजको स्थितिमा ल्याएको उल्लेख गरे।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले तत्कालीन अवस्थामा भारतमा निर्वासनमा रहँदा पनि राष्ट्रियता कमजोर नहोस् भनेर बीपीले स्वदेश फर्केर सङ्घर्ष गर्नु सामान्य कुरा नभएको बताए। “बीपीले देखाएको बाटोबाट आजको राजनीतिक स्थायित्व सम्भव भएको हो,” उनले भने।
सभापति देउवाले आफूहरूले पनि राजनीतिका कठिन दिनहरू भोग्दै संघर्ष गरेर अहिलेको अवस्था ल्याएको उल्लेख गर्दै अहिले हासिल उपलब्धिहरू जोगाउन कांग्रेस बलियो बन्नुपर्ने धारणा राखे।
उनले बलियो कांग्रेस र राष्ट्रिय शक्तिबीचको सहकार्यबाट मात्रै मुलुक समृद्ध हुने विश्वास व्यक्त गरे। साथै, राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता र सामाजिक सद्भावलाई प्राथमिकता दिनुपर्ने बीपी कोइरालाको दृष्टिकोणलाई आजको सन्दर्भमा पनि सान्दर्भिक भएको उल्लेख गरे।
कार्यक्रममा देउवाले बीपी कोइरालालाई बहुआयामी व्यक्तित्वका रूपमा चित्रण गर्दै उनी राजनीतिज्ञ मात्र नभई साहित्यमा पनि चम्किलो तारा भएको बताए।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया