काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेताहरूलाई सरकारप्रति सार्वजनिक रूपमा प्रश्न उठाउने खालका गतिविधि नगर्न आग्रह गरेका छन्।
१४औं महाधिवेशनमा उनलाई साथ दिएका ‘सात भाइ’ नेताहरूको तर्फबाट भेट गर्न गएका पाँच नेतासँग कुराकानी गर्दै देउवाले यस्तो आग्रह गरेका हुन्। भेटमा सहभागी एक नेताका अनुसार, नेताहरूले सरकारका कामप्रति असन्तुष्टि जनाउँदै सातबुँदे सहमतिअनुसार जनअपेक्षा पूरा गर्न नसकेको विषय उठाएका थिए।
नेताहरूले सातबुँदे सहमतिको भावना अनुरूप सरकारबाट देखिनुपर्ने उपलब्धि अझै नदेखिएको र जनतामा निराशा बढिरहेको जस्ता सवालहरू सभापति देउवाको सामु राखेका थिए।
तर, सभापति देउवाले सरकार क्रमशः सुधारको दिशामा अघि बढिरहेको उल्लेख गर्दै अहिले नै सार्वजनिक रूपमा आलोचना गर्नु उचित नहुने बताएका छन्। उनले भनेका छन्, “अहिले प्रश्न उठाउने होइन, संयमित भएर पर्खनु जरुरी छ।”
देउवाको आग्रहसँगै नेताहरूबीच सरकारको कार्यशैलीप्रति असन्तुष्टि रहे पनि आन्तरिक संवादमार्फत समाधान खोजिनुपर्ने निष्कर्षमा पुगेको बताइएको छ।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया