काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा पदबाट राजीनामा दिन तयार भएका छन्।
बुधबार सम्पन्न संसदीय दलको नेताको निर्वाचनमा बागमती प्रदेशसभामा रहेका कांग्रेसका ३७ जना सांसदमध्ये लामा पक्षमा १४ मत मात्रै खसेको थियो भने इन्द्र बानियाँ पक्षमा २२ मत प्राप्त भएको थियो। एक मत बदर भएको थियो।
दलको नेतामा पराजित भएपछि बिहीबार लामाले देउवासँग भेट गरेका थिए। भेटका क्रममा सभापति देउवाले पद त्याग गर्न निर्देशन दिएपछि लामा आज वा भोलिमा राजीनामा दिने तयारीमा रहेको उनको निकट एक सांसदले जानकारी दिएका छन्।
यद्यपि संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त भएका लामा दलको नेतासँग प्रत्यक्ष रूपमा आबद्ध नभए पनि राजनीतिक रूपमा उनीमाथि गम्भीर दबाब परेको हो।
झण्डै तीन वर्षअघि निर्वाचन सम्पन्न भएलगत्तै भएको संसदीय दलको नेताको छनोटमा पनि बानियाँसँग लामा पराजित भएका थिए। त्यसबेला कांग्रेस–एमाले गठबन्धनको सहमतिअनुसार एक–एक वर्ष कार्यकाल बाँडफाँड गर्ने सहमति भएको थियो। अहिले त्यही सहमति कार्यान्वयन गराउन बानियाँ पक्षले दबाब बढाएको हो।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया