काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ प्रति नेकपा (एमाले) ले असहमति जनाएको छ। एमालेले उक्त कार्यविधि राजनीतिक दलहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजिएको आरोप लगाएको छ।
एमाले केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यका अनुसार स्वमूल्याङ्कन राजनीतिक दलको आन्तरिक विषय भएकाले निर्वाचन आयोगको संलग्नता संविधानको मर्मविपरीत रहेको छ।
“दलको गठन, दर्ता र सञ्चालन संविधानको भाग २९ अन्तर्गत दलहरूको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र पर्छ। त्यसकारण स्वमूल्याङ्कन राजनीतिक दलकै जिम्मेवारी हो, जुन जनताले जनादेशमार्फत मूल्याङ्कन गर्छन्,” आचार्यले बताए।
निर्वाचन आयोगले कार्यविधिमाथि सुझावका लागि शुक्रबार (आज) सम्मको समय तोकेको थियो। एमालेले आयोगलाई आधिकारिक रूपमा सुझाव पठाउँदै आफ्नो असहमति जनाएको हो।
यसअघि प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सिंहदरबारमा बसेको माओवादी, रास्वपा, राप्रपा, जनमत पार्टीलगायत दलहरूको संयुक्त बैठकले पनि कार्यविधिको विरोध गरिसकेको छ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया