काठमाडौं । सुडानको घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका कारण एक सातामै ६३ जनाको ज्यान गएको छ।

तीमध्ये अधिकांश महिला र बालबालिका रहेको एक स्वास्थ्य अधिकारीले आइतबार जानकारी दिएका छन्।

advertisement

आधिकारिक विवरणअनुसार, यो संख्या केवल अस्पतालसम्म पुर्‍याइएका बिरामीहरूमात्र हो । कमजोर सुरक्षाका कारण र सवारीसाधन नहुँदा थुप्रै परिवारले आफ्ना मृत आफन्तलाई उपचार नदिई गाडेका छन्।

गत वर्षको जेठदेखि एल–फाशेर अर्धसैनिक समूह द्रुत सहायता बल आरएसएफको घेराबन्दीमा परेको छ । सो समूह सुडानको नियमित सेनासँग विसं २०८० को वैशाखदेखि युद्धरत छ।

एल–फाशेर डारफुर क्षेत्रको सेनाको नियन्त्रणमा रहेको अन्तिम ठूला सहरहरूमध्ये एक हो। राजधानीबाट फिर्ता भएपछि सो समूहले हालै फेरि आक्रमण बढाएको छ।

गत चैतमा नजिकैको जमजम विस्थापित शिविरमा भएको ठूलो आक्रमणपछि दसौं हजार व्यक्ति पुनः विस्थापित भएर एल–फाशेरमै शरण लिन बाध्य भएका छन्।

एक समय जीवनरक्षक मानिएका सामूहिक भान्साघरहरू खाद्यान्न अभावका कारण बन्द भइसकेका छन्। केही परिवार पशुचौपायालाई दिने घाँस वा फालिएका खानेकुरा खाएर गुजारा गरिरहेका छन् भन्ने खबर आएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार, एल–फाशेरमा पाँच वर्षभन्दा मुनिका करिब ४० प्रतिशत बालबालिका तीव्र कुपोषणबाट ग्रस्त छन्, जसमध्ये ११ प्रतिशत गम्भीर कुपोषणको सिकार छन्।

तीन वर्षदेखि जारी युद्धले दसौं हजारको मृत्यु गराइसकेको छ, लाखौँ विस्थापित भएका छन् र संयुक्त राष्ट्रसंघका अनुसार यो हाल विश्वकै सबैभन्दा ठूलो विस्थापन र भोकमरीको संकट बनेको छ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com