काठमाडौं । तराई क्षेत्रका जिल्लामा जापानीज इन्सेफलाइटिस (जेई) संक्रमण तीव्र गतिमा फैलिरहेको छ । परिवार कल्याण महाशाखाका तथ्यांकअनुसार हालसम्म ३३ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ३ जनाको मृत्यु भइसकेको छ । गत वर्ष यो सङ्क्रमणका कारण ८६ जना संक्रमित भएका थिए र २५ जनाको ज्यान गएको थियो । यस वर्ष सबैभन्दा बढी संक्रमण मधेस, कोशी र लुम्बिनी प्रदेशमा देखिएको छ ।

संक्रमण पुष्टि भएका जिल्लाहरूमा बर्दिया, कावासोती, रत्ननगर, ठोरी, हरिवन, लाहान, भद्रपुर, उल्लाबारी र गौरीगञ्ज रहेका छन् । संक्रमितमा २० महिला र १३ पुरुष रहेका छन् । मृत्यु भएका तीनै जना पुरुष हुन् — मोरङको खानीपोखरीका १७ वर्षीय, ४९ वर्षीय र नवलपरासीका ७४ वर्षीय रहेका छन् ।

advertisement

खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार यस वर्ष विशेषगरी खोप नलगाएका समुदायहरूमा संक्रमण बढी देखिएको छ । केही समयअघि पूर्वी जिल्लाहरूमा देखिएको संक्रमण अहिले मधेस, कोशी र लुम्बिनी प्रदेशसम्म फैलिएको छ ।

स्वास्थ्य विभागका तथ्यांकअनुसार हालसम्म ६८६ जनाको जेई परीक्षण गरिएको छ जसमा ३३ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये मधेसमा १०, कोशीमा ९, लुम्बिनीमा ९, बागमतीमा ४ र गण्डकीमा १ जनामा संक्रमण देखिएको छ ।

डा. गौतमले भने, “तराई क्षेत्र जेईको लागि उपयुक्त क्षेत्र हो। यहाँ धानखेती धेरै हुने र सुँगुर तथा हाँस पालन हुने भएकाले लामखुट्टेको सङ्ख्या बढी हुन्छ र संक्रमणको जोखिम उच्च हुन्छ।”

संक्रमणको जोखिम देखिएपछि स्वास्थ्य निकायले तीन महिनाअघि नै अस्पतालहरूलाई क्लिनिकल प्रोटोकल र उपचार निर्देशिका उपलब्ध गराइसकेको छ । प्रमुख अस्पतालका चिकित्सकहरूलाई तालिम दिइएको छ भने आइसियूमा रहेका बिरामीहरूको निरन्तर निगरानी भइरहेको छ ।

सन् २०२३ मा नेपालमा १०७ जनामा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु भएको थियो । २०७८ देखि निरन्तर खोप कार्यक्रममार्फत १२ महिनामाथिका बालबालिकालाई जेई बिरुद्धको खोप दिइँदै आएको छ ।

जेई भाइरस क्यूलेक्स लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो लामखुट्टे बिहान र बेलुका बढी सक्रिय हुन्छन् । संक्रमित चराचुरुङ्गी र सुँगुरबाट लामखुट्टे संक्रमण लिएर मानिसमा सार्छन् ।

माछा मार्ने, बगैंचा हेर्ने, क्याम्पिङ गर्ने, सुँगुर पालन गर्ने स्थानका मानिसहरू बढी सतर्क हुनुपर्ने डा. गौतमले बताए । लामो समयसम्म सुँगुर र हाँसमा संक्रमण रहिरहने भएकाले जनावर बस्ने ठाउँ सफा राख्न र झुल प्रयोग गर्न सुझाव दिएका छन् ।

जेईका लक्षणहरूमा उच्च ज्वरो, मुर्छा, घाँटी कठोर हुनु, भ्रम, बोल्न नसक्ने अवस्था र मांसपेशी कमजोर भएर पक्षाघात हुने जोखिम हुन्छ ।

यस रोगको कुनै निश्चित उपचार छैन तर लक्षण अनुसार उपचार गरिन्छ । जस्तै ज्वरो नियन्त्रण, कम्पन र टाउको दुखाइलाई कम गर्ने उपायहरू अपनाइन्छ ।

शरीरको प्रतिरोध क्षमता बलियो भएमा लाक्षणिक उपचारपछि निको हुने सम्भावना हुन्छ तर प्रतिरक्षा कमजोर भएका, मधुमेह, एचआईभी संक्रमितहरूमा जोखिम बढी हुन्छ र समयमै उपचार नपाउँदा मृत्यु हुनसक्छ ।

संक्रमण देखिएपछि चारदेखि १४ दिनभित्र लक्षण प्रकट हुन सक्छ ।

डाक्टरहरूले लामो बाहुलो लुगा लगाउन, घर वरिपरि सरसफाइ कायम राख्न, लामखुट्टे धपाउने झुल र क्रिमको प्रयोग गर्न तथा पानी जम्न नदिन सुझाएका छन् । साथै पशुपन्छीको खोर मानब बस्तीबाट टाढा राख्न पनि सुझाव दिइएको छ ।

जेईबाट बच्नको लागि सबैभन्दा प्रभावकारी उपाय भनेको नियमित खोप हो, जसले यो रोगबाट बचाउन सकिन्छ। खासगरी वर्षायाममा संक्रमणको जोखिम बढी हुने भएकाले सतर्कता अपनाउनु जरुरी छ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com