काठमाडाैं । नर्वेले विद्युतीय सवारी साधनको प्रयोग बढाउन ठूलो मात्रामा लगानी गर्दै व्यापक योजना अघि सारेको छ। सरकारले २०२५ भित्र डिजेल र पेट्रोलबाट चल्ने सवारी साधन पूर्णरूपमा निषेध गर्ने लक्ष्य राखेको छ। यसलाई सफल बनाउन विभिन्न नीतिगत र पूर्वाधार सुधारका कार्यक्रमहरू कार्यान्वयनमा ल्याइरहेको छ।
विद्युतीय सवारीलाई प्रोत्साहन गर्न सरकारले पार्किङ शुल्कमा छुट, ट्राफिक जामका बेला बसको लेन प्रयोग अनुमति, कर छुट, सडक करमा छुट र सार्वजनिक चार्जिङ स्टेशन सञ्चालनमा अनुदान जस्ता धेरै सुविधा दिएका छन्।
पूर्वाधार विस्तारमा पनि नर्वेले ठूलो लगानी गरेको छ। सडक तथा चार्जिङ स्टेशनहरूलाई दूरदराजका ग्रामीण क्षेत्रसम्म पुर्याएर विद्युतीय सवारीहरूको पहुँच विस्तार गरिएको छ।
नर्वेको ट्रन्डहाइम सहरमा हालै एक अत्याधुनिक प्रविधि लागू गर्दै ‘ताररहित चार्जिङ सडक’ सञ्चालनमा ल्याइएको छ। यो सडकमा सवारी गुड्दै गर्दा नै चार्ज हुने सुविधा उपलब्ध छ।
बेलायतस्थित अनलाइन मिडिया हाइवेज इन्डस्ट्रिजका अनुसार, करिब एक सय मिटर लामो उक्त सडक मुनि तामाका क्वाइल जडान गरी विद्युत चुम्बकीय क्षेत्र सिर्जना गरिन्छ, जसले विशेष रिसिभर भएको विद्युतीय सवारीमा ऊर्जा प्रसारण गर्छ। यसरी सवारी चार्ज भइरहँदा लामो समयसम्म चार्जिङ स्टेसनमा रोकिनुपर्ने आवश्यकता कम हुनेछ।
यो परियोजना सार्वजनिक यातायातका विद्युतीय बसहरूका लागि पाइलट चरणमा सुरु गरिएको हो। परीक्षणका लागि चीनका युतोङ र हाइगर कम्पनीका बसहरू प्रयोग गरिने बताइएको छ।
नर्वेले २०२५ सम्ममा पेट्रोल र डिजेल सवारी साधन हटाउने योजना अनुसार यस प्रविधिले सार्वजनिक यातायातलाई अझ प्रभावकारी र कार्बन उत्सर्जन घटाउन सहयोग पुर्याउने छ।
तर, ट्रन्डहाइमको कठोर जाडोमा यो प्रणाली कत्तिको प्रभावकारी हुनेछ भन्ने परीक्षण चलिरहेको छ। परीक्षण सफल भएमा यो प्रविधि चिसो मौसम भएका अन्य देश र सहरमा पनि विस्तार गर्ने योजना छ।
यस परियोजनामा नर्वे सरकारले करिब २ करोड २४ लाख नर्वेजियन क्रोन (अर्थात् लगभग २.१२ मिलियन अमेरिकी डलर) लगानी गरेको छ। ट्रन्डलाग काउन्टी काउन्सिलका यातायात निर्देशक कोनराड प्यूट्जले सफल परीक्षणपछि सन २०२९ सम्म नयाँ विद्युतीय बस खरिद गरिने बताए।
यदि यो प्रविधि सफल हुन्छ भने, विद्युतीय सवारीका ब्याट्री साना बनाउने, लागत घटाउने र चार्जिङ स्टेसनको आवश्यकता न्यून गर्ने दिशा लाग्नेछ। यसले लामो दूरीका यात्रामा र ठूलो आकारका सवारीहरूको विद्युतीयकरणलाई अझ व्यवहारिक बनाउने अपेक्षा गरिएको छ।
यद्यपि, यस प्रविधिलाई विकास र सञ्चालनमा केही चुनौतीहरू पनि छन्। करिब एक सय मिटर लामो चार्जिङ सडक बनाउन मात्र २० लाख १२ हजार अमेरिकी डलर खर्च भइसकेको छ। थप विस्तार र मर्मतसम्भारका लागि थप ठूलो खर्च हुने सम्भावना छ। साथै, यसको दीर्घकालीन विश्वसनीयता र प्रभावकारिता प्रमाणित हुन बाकी छ।
यसका बाबजुद, नर्वेले यस परियोजना मार्फत विद्युतीय यातायातको भविष्यलाई लक्षित गरी एक साहसी र अग्रगामी कदम चालेको हाइवेज इन्डस्ट्रिजले उल्लेख गरेको छ।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार













प्रतिक्रिया