काठमाडौं ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र भारतबीच ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्य रही आएको बताउँदै आगामी दिनमा यसलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिएकि छिन् । भारतको ७९औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा उनले भारत नेपालको एक असल छिमेकी राष्ट्रका रूपमा रहेको भन्दै दुई देशबीचको सदियौँ पुरानो सम्बन्धका विविध आयामका बारेमा चर्चा गरिन् ।

भारतको आर्थिक विकासको असाधारण यात्राको प्रशंसा गर्दै मन्त्री डा राणाले व्यापार, प्रविधि, पूर्वाधार र जनस्तरका आकांक्षाहरूमा दुई देशले संयुक्त सहकार्य विस्तार गरेर अघि बढ्ने पनि बताइन् । नेपाल–भारत सम्बन्ध केवल भौगोलिक सीमामा सीमित नरही हिमाल, नदी तथा प्राचीन सभ्यताको साझा ज्ञानले जोडिएको र दुइ देशबीचको साझा संस्कृति र जनस्तरको सम्बन्धले त्यसलाई अटुट बनाएको उनले बताइन् ।

advertisement

मन्त्री डा राणाले जलवायु परिवर्तन, दिगो विकास र साझा चुनौतीहरूको समाधानमा दुई देशबीचको सहकार्य आगामी दिनहरूमा अझ आवश्यक रहेका उल्लेख गरिन । यसअघि आजै मन्त्री डा राणाले भारतीय विदेशमन्त्री डा एस जयशंकरमार्फत् भारत र भारतीय जनताप्रति स्वतन्त्रता दिवसको हार्दिक बधाई ज्ञापन गर्दै नेपालले भारतसँगको दीर्घकालीन र दिगो साझेदारीलाई उच्च सम्मानका साथ मूल्याङ्कन गरेको बताइन्।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com