लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई त्याग र बलिदानको उपलब्धि भने पनि अझै समावेशी गणतन्त्रको सपना अपूरो रहेको बताएका छन्।
लमजुङको बेशिशहरमा नेपाल तामाङ घेदुङ जिल्ला समितिद्वारा आयोजित सांस्कृतिक तथा संग्रहालय भवनको उद्घाटन कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रचण्डले संविधानले सबै उत्पीडित वर्ग र समुदायलाई पूर्ण अधिकार दिन नसकेको प्रष्ट पारे।
“हामी जुन चौतारीमा आइपुगेका छौँ, त्यो त्याग र बलिदानको परिणाम हो। तर अझै पनि उत्पीडित वर्ग र समुदायले पाउनुपर्ने अधिकारमा पुग्न सकेका छैनौँ,” उनले भने।
प्रचण्डले संविधान निर्माण प्रक्रियामा केही विषयमा सम्झौता भए पनि उत्पीडित वर्गका मुद्दा संविधानसभामै ‘रिजर्भेसन’, ‘भिन्न मत’ वा ‘नोट अफ डिसेन्ट’मार्फत दर्ता गरिएको स्मरण गराए। ती मुद्दालाई फेरि अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।
पछिल्लो कार्यकालमा सरकारको नेतृत्व सम्हाल्दा सुशासन, सामाजिक न्याय र आर्थिक विकासका लागि पहल गरेको भए पनि प्रतिक्रियावादी शक्तिले सरकारबाट बाहिर जान बाध्य पारिएको उनले आरोप लगाए। उनले पार्टी सरकार बाहिर भए पनि जनतामाझ अभियानमार्फत पहिचान, अधिकार र समावेशीताका मुद्दा उठाइरहेको र भदौको तेस्रो साताबाट नयाँ अभियान सुरु गर्ने तयारी भइरहेको जानकारी दिए।
तामाङ घेदुङलाई सांस्कृतिक पहिचान, अधिकार र संघर्षको साझा चौतारीको रूपमा उल्लेख गर्दै उनले लमजुङमा बनेको सांस्कृतिक तथा संग्रहालय भवन तामाङ समुदायको पहिचानको बलियो प्रतीक बन्ने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया