नवलपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायका अधिकार र संवैधानिक मान्यता माओवादी जनयुद्धको उपलब्धि भएको बताएका छन्।
शुक्रबार नवलपुरको कावासोती–१६ डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रले आयोजना गरेको जिल्ला स्तरीय भौदी खेल प्रतियोगिता उद्घाटन गर्दै प्रचण्डले “जनयुद्ध नभएको भए थारूको पहिचान र आयोग सम्भव हुने थिएन” भने।
गण्डकी प्रदेशमा थारू जनसंख्या न्यून भएकाले स्वतन्त्र राजनीतिक प्रतिनिधित्व कठिन हुने बताउँदै उनले नवलपुरलाई विशेष वा स्वायत्त क्षेत्रको मान्यता दिनुपर्ने माग गरे। थारू संग्रहालयका लागि छुट्याइएको ७ बिघा जग्गा अझै भोगाधिकारमा नआएकोप्रति चिन्ता व्यक्त गर्दै संसद र सरकारसँग पहल गर्ने प्रतिवद्धता पनि उनले जनाए।
प्रचण्डले भौदी खेललाई थारू समुदायको मौलिक सांस्कृतिक सम्पदा भन्दै संरक्षणमा जोड दिएका थिए। साथै संविधानले व्यवस्था गरेका स्वायत्त, विशेष र संरक्षित क्षेत्र अझै कार्यान्वयनमा नआएको उल्लेख गर्दै दलित, महिला र आदिवासीको अधिकार सुनिश्चितताका लागि माओवादी निरन्तर संघर्षमा रहने बताए।
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया